Logo
Logo
गन्तव्य

लठ्ठै पार्ने तिम्बुङ पोखरीको सौन्दर्य (तस्बिरहरू)


ज्ञानु घिमिरे



पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सिमानास्थलमा अवस्थित तिम्बुङ पोखरीमा असारदेखि असोज महिनासम्म पर्यटनका लागि सिजन मानिन्छ ।

समुद्री सतहबाट ४ हजार ३३८ मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइमा फैलिएको छ । तिम्बुङ पोखरी पूर्वको रमणीय स्थलमध्ये एक हो ।

तिम्बुङ पोखरीको नाम स्थानीय प्राचिन सभ्यता तथा लिम्बूहरुको मुन्धुमसँग जोडिएको छ । तिम्बुङ भन्नाले लिम्बू भाषामा भरिएको पोखरी हो । पदयात्राका लागि उपयुक्त गन्तव्य मानिएको यो स्थानमा जान प्राकृतिप्रेमीहरु उत्सुक हुने गर्छन् । मानवीय गतिविधि कम हुने यस क्षेत्रमा हिमाली परिवेशको वातावरण, वन्यजन्तु तथा जडीबुटीको प्रमुख स्थल यहाँ मानवीय गतिविधि भने कम हुने गर्छ ।

हिमाली क्षेत्रको दृश्यालोकन गर्न पाइने यस स्थानबाट कन्चनजंगा, कुम्भकर्ण हिमाल, भारतको सिक्किम र दार्जिलिङ शहरको दृश्यावलोकन गर्न सकिन्छ । चट्टानयुक्त पहाडले घेरिएको तिम्बुङ पोखरीमा शिवपोखरी, सूर्यकुण्ड, दूधकुण्ड, हंस पोखरी, मयुर पोखरीसहितका आठ वटा पोखरी रहेका छन् ।

पाँचथरको सदरमुकाम फिदिमबाट करिब ५ दिनको पैदल यात्रामा पुगिने उक्त पोखरी जान वर्षेनी कठिन भूगोल छिचोलेर जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रहेको याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे बताउँछन् । तिम्बुङ पोखरीमा तीन पटक पुग्नुपर्ने धार्मिक मान्यता छ । तर, नसक्नेहरु एक पटकमात्र पुगेर पनि यहाँको झल्को मेट्ने गर्छन् ।

तिम्बुङ पोखरीमा निस्किएको मुलपानीबाट इवाखोला बग्दछ । हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोक गर्न पाइने यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्या अझ बढेको स्थानीय कृष्ण प्याकुरेल बताउँछन् ।

पोखरी पुगेपछि त्यहाँको परिवेश देख्दा त्यही संसार बसाएर प्रकृतिकै काखमा रमाउन मन लाग्ने बताउँछन यात्राकार सुरज मादेन लिम्बू । उनी भन्छन्, ‘त्यहाँ पुगेपछि फर्कनै मन लागेको थिएन । हिँड्न कठिन थियो तर, त्यहाँ पुग्दा स्वर्ग पुगेको आभाष भयो । गोठमा बसेपनि महलको भन्दा ज्यादा रमाइलो हुने रहेछ ।’

कसरी जाने
पदयात्राका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको यहाँ जानका लागि पाँचथरको च्याङ्थापुदेखि पदयात्रा सुरु गरी लेकाली बाटो भएर तीन दिनको यात्रा तय गर्नुपर्छ । ताप्लेजुङको सिदिङमा गाउँपालिकाबाट समेत यो स्थानमा पुग्न सकिन्छ ।

पाँथथरको चिवाभज्याङबाट दुई दिनको पैदल यात्रामा पुग्न सकिन्छ । तर, उक्त बाटो हुँदै जाँदा बास बस्नका लागि गोठस्टे नहुँदा समस्या रहेको पदयात्री सविन देवकोटा बताउँछन् । यसका लासि स्थानीय सरकारले पहल गर्नुपर्नेमा उनको जोड छ ।

पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरो नै टेकेर हिँड्नुपर्ने हुन्छ । तिम्बुङ पोखरीबाट केही घण्टा पौदलयात्रा गर्न सके भारतको सिक्किमस्थित लक्ष्मीपोखरी पुगिन्छ । लेकाली क्षेत्र तथा विभिन्न फूल फूल्ने र रमणीय सिजन असार, साउन र भदौ महिनामा यस स्थान झपक्क बल्ने हुँदा प्राकृतिप्रेमी त्यहाँ जान उत्सुक देखिन्छन् ।

कहाँ बस्ने
मानवीय गतिविधि कम हुने यस क्षेत्रमा सदरमुकामबाट टाढा र विकट भएकाले यस क्षेत्रमा जाँदा गोठमा बास बस्नुपर्ने हुन्छ । स्थानीय लेकाली परिकार खाएर बास बस्नुपर्ने यो स्थानमा गाँस र बासको व्यवस्था यात्राकार आफैँले गर्नुपर्छ ।

समूहमा आएका युवा पथप्रदर्शक बढी देखिने यस स्थानमा लस्कर लागेर सामुहिक रुपमा बस्ने गर्छन् । यहाँ चौंरीको दूध, घ्यू, छुर्पी तथा लेकाली परिकार खान पाइन्छ । जाडोयाम सुरु भएपछि यहाँका चांैरी गोठाला तथा गोठ–स्टे संचालकसमेत बेँसीतर्फ फर्कने हुनाले यहाँ एक सिजनमात्र बस्न उपयुक्त हुन्छ । अग्ला हिमाल हेर्दै उकालो पहाड चढ्दै स्थानीय फूल तथा जडिबुटीसँग तस्बिर खिचाउन रमाइलो हुने यात्राकार स्मृति प्याकुरेल सुनाउँछिन ।

के के पाइन्छ ?

जैविक विविधिताको विशाल भण्डार रहेको यस क्षेत्रमा लेकाली जडीबुटी क्यान्जो, चिमल, सुनाखरी, माइकोपिला, ठूलो ओखती, यार्सागुम्बा, पाँचऔँले, कुड्की, पाखनवेद, सानो ओखती, चिराइतो, विखुवा, सुनपाती, सिक्पा, भैरुङपातीजस्ता बहुमूल्य जडिबुटी तथा अन्य बिषालु जडिबुटीसमेत पाइन्छन् ।

मनमोहक दृष्य देखिने सो स्थानको वरपर चौरी गोठ, भेडी गोठ,जङ्गली जनावरमा कस्तुरी मृग विभिन्न प्रजातीका लेकाली चराहरु चौरीका विभिन्न प्रजाति तथा सयौँ बोटविरुवाका प्रकार देख्न सकिने यो स्थानमा मनमोहक पोखरीको वरपर आकर्षक रुपमा सजिएका पुराना मृर्तिहरु राखिएका छन् । पानीले भरिएको निलो सुन्दर पोखरीमा टलक्क टल्किएको हिमाल तथा भेटी पैसा आँखाले देख्न सकिन्छ ।

समस्या

उच्च हिमाली भेग अवस्थित तिम्बुङपोखरी जान धेरै भौगोलिक समस्या छ । बाटोमा पर्याप्त मात्रामा बस्ने गोठस्टे तथा होमस्टे नहुँदा पर्यटकलाई असहज हुने गरेको छ । पर्याप्त होमस्टे वा होटलहरु सञ्चालनमा ल्याउन सकिए बैशाखदेखि कार्तिकसम्म नै त्यहाँ जान सकिने स्थानीय प्याकुरेल बताउँछन् । हाल ताप्लेजुङको सिदिङमा गाउँपालिका वडा नम्बर १ बाट कालीखोला आसपासमा भने व्यक्तिगत लगानी तथा गाउँपालिकाको पहलमा केही होमस्टेहरु खुलेका कारण यात्राका लागि सहज भएको छ ।

सानो गोरेटोबाटो तथा इवा खोलाबाट पोखरीसम्म जान पुल नहुँदा गाइवस्तु र मानिसलाई समेत कठिन हुने गरेको स्थानीय अर्जुन भण्डारी बताउँछन् । पुल नहुँदा फलामको लठ्ठामार्फत इवा खोला तर्ने गरिएको छ । जुन निकै जोखिम रहेको छ ।

पछिल्लो समयमा यहाँ होमस्टेहरु संचालनमा आएपनि माग धान्ने अवस्थामा नभएको कृष्ण प्याकुरेल सुनाउँछन । केही वर्ष अगाडिको तुलनामा अहिले धेरै गोरेटो बाटोहरुको निर्माण भएका छन् । तैपनि भरपर्दा यात्राको लागि सहज हुने बाटोहरु बन्न नसक्दा प्रकृतिक चुनौती रहेको छ । गाउँपालिका अध्यक्ष घिमिरेका अनुसार यसका ताप्लेजुङको सिदिङमा गाउँपालिकासँगको समन्वयमा काम गरिने बताउँछन् ।

यहाँको पूर्वाधार विकासका लागि सिक्किम सरकार र नेपालको सीमा चिवाभञ्याङबाट सो क्षेत्रमा जाने सडकको कामसमेत सुरु भएको छ । बहुमूल्य वनस्पति, वन्यजन्तु जडिबुटीले सम्पन्न तिम्बुङ पोखरीलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न सकिन्छ ।

-तस्बिरहरु सुरज मादेन

प्रतिक्रिया दिनुहोस्