Logo
Logo

स्वास्थ्य सेवाकाे नाममा लुटिँदै सुदूरपश्चिमेली



धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल सेती प्रादेशीक अस्पतालमा सेवाग्राहीहरुले गुणस्तरीय सेवा नपाएको गुनासाे बढ्दै गएकाे छ ।

सेती अस्पतालमा काम गर्ने डाक्टरहरुको निजी अस्पतालमा लगानी भएको र केही निजी अस्पतालहरुमा काम गर्ने गरेका कारण गुणस्तरीय सेवा नपाएको सेवाग्राहीहरुको गुनासाे छ ।

अस्पतालमा काम गर्ने डाक्टरहरु नभेटिने सेवाग्राहीहरुको दुखेसो छ । कहिलेकही डाक्टर भेटिए पनि क्लिनिकमा जानुहोस् भन्ने गरेको उनीहरुको भनाइ छ । क्लिनिकमा चर्को शुल्क तिर्न बाध्य छन् सेवाग्राही ।

क्लिनिकमै व्यस्त डाक्टर

मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीहरु बढ्दै गएको छ । भाइरल ज्वरोबाट बालकालिका बढी प्रभावित बनेका छन् । बिहानदेखि बेलुकासम्मै सेती प्रादेशीक अस्पताल अगाडिका क्लिनिकहरुमा भीडभाड लाग्ने गर्छ ।

सोमबार बिहान प्रादेशीक अस्पतालको गेटनजिकै रहेको एक क्लिनिकमा बालबालिकासहितको महिलाहरुको भीड देखिन्थ्यो । त्यो भीड भाइरल ज्वरोबाट प्रभावित भएका बालबालिकाको उपचार गर्न आएकाहरुको थियो ।

त्यहीँ भीडमा रुँदै गरेको साढे दुई वर्षको बच्चालाई कोखमा च्यापेर बसेकी धनगढी उपमहानगरपालिका– १४, पुलवारीकी निर्मला खतिवडाले भनिन्– ‘हामी उपचार गराइरहेको क्लिनिक अगाडि ठूलो सरकारी अस्पताल छ । र, पनि निजी क्लिनिकमा उपचार गराउन बाध्य भएका छौं, विशेषज्ञ डाक्टरहरु नहुँदा निजी क्लिनिकमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छौं ।’ दुई दिनसम्म पनि आफ्नो पालो नआएको उनीले सुनाइन् ।

सेती प्रादेशीक अस्पताल प्रदेशकै एक मात्र ठ्रूलो अस्पताल हो । तर, अस्पताल प्रशासनको लापरवाही र डाक्टरहरुको कमाउधन्दा लागेका कारण सुदूरपश्चिमबासीले सेवा पाउन सकेका छैनन् ।

१३ महिनाको बच्चाको उपचारका लागि लाइनमा बसेको गोदावरी नगरपालिकाका कृष्ण कार्की भन्छन्– ‘बच्चार बिरामी भएपछि सेती प्रादेशिक अस्पताल गयौं । तर, त्यहाँ डाक्टर नै भेटिएनन्, कुन क्लिनिकमा भेट्न सकिन्छ भनेर प्रश्न गर्दा करुणा मेडिकल हल र क्लिनिकमा भनेर जवाफ आयो, डाक्टरहरु कमाउधन्दामा लागेका कारण गुणस्तरीय सेवा पाउन सकेका छैनौं ।’

बच्चालाई करुणा मेडिकलमा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रलाई देखाएको बताए । उनले भने, ‘डाक्टर मिश्र सेती प्रादेशीक अस्पतालमा पनि काम गर्नुहुँदो रहेछ । तर, उहाँ अस्पताल भन्दा निजी क्लिनिकमा बढी बस्नु हुँदो रहेछ, अस्पतालमा त कहिलेकहिँ मात्रै जानु हुँदो रहेछ ।’

सरकारी अस्पतालमा काम गर्ने डाक्टरको निजी अस्पाताल तथा क्लिनिकहरुमा लगानी भएका कारण उनीहरु बढी समय दिने गरेको सेवाग्राहीहरुको गुनासो छ । सरकारी अस्पतालमा डाक्टरहरूले निजी क्लिनिकमा बढी समय दिन थालेपछि सर्वसाधरण मारमा परेका छन् । सरकारी अस्पतालहरु बदनामित हुँदै गएको छ ।

त्यस्तै सेती प्रदेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमराज पाण्ड पनि युग क्लिनिकमा काम गर्छन् । डा पाण्डे पनि अस्पतालमा भन्दा बढी क्लिनिकमै भेटिन्छन् ।

यी डाक्टरहरु त उदाहरण मात्रै हुन । सेती प्रादेशीक अस्पतालका धेरै डाक्टरहरु निजी क्लिनिकलाई बढी समय दिने गर्छन् । अस्पतालमा डाक्टरहरु नै भेटिन्दैनन् । जसले गर्दा निजी क्लिनिकमा चर्को शुल्क तिरेर उपचार गर्न बाध्य छन् । सुदूरपश्चिमेली स्वास्थ्य सेवाका नाममा दिनहुँ लुटिरहेका छन् ।

कारबाही गर्ने सामाजिक विकास मन्त्रीकाे चेतवानी

यता, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सेती प्रादेशीक अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि अस्पतालका मेसु हेमराज पाण्डेको नेत्तृत्वमा कार्यदल गठन गरिएको बताउँछन् ।

कार्यदल गठन गरिसकेपछि मन्त्रालयले अस्पतालमा कार्यरत डाक्टरहरुलाई कार्यालय अवधिभर ड्रेससहित आउन निर्देशन दिएको उनको भनाइ छ । अनुगमनका क्रममा डाक्टरहरु कार्यालयमा नभेटिए कारबाही गर्न बताउँछन् । तर, कार्यान्वयन भने आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्