किन हुन्छ आफन्तबाटै हत्या ? « Drishti News – Nepalese News Portal
Logo

किन हुन्छ आफन्तबाटै हत्या ?


नवीन राई


घटना-१, यही भदौ २१ गते संखुवासभाको मादी–१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुनेगरी हत्या भयो । तेजबहादुर कार्कीसँगै आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा गरी ६ जना एकैसाथ मारिए ।

घरमा ९० वर्षीय हजुरबुबामात्रै संयोगले बाँचे । तेजबहादुरका दुई जवान छोरा भने विदेशमा थिए । कार्की परिवारको हत्याको आरोपमा उनकै भाइ–बुहारी र भतिजाहरू गरी ६ जना पक्राउ परेका छन् । उनीहरूले तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । यद्यपी, पुष्टि भने अहिलेसम्म भएको छैन ।

घटना-२, ०७७ मंसिर कात्तिक २६ गते अमृताकुमारी साहको हत्या भयो । राति साढे ११ बजेतिर सुतिरहेका बेला उनको कन्चटमा गोली हानियो । प्रहरीको अनुसन्धानले अमृताका बुवा राम अयोध्या साह र आमा सीतादेवी साहले नै छोरीमाथि गोली हान्न लगाएको खुल्यो । उनीहरूले आफ्नो इज्जत जाने डरले छोरीको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारे ।

घटना-३, दुई वर्षअघि अर्थात ०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । दुईवटा परिवारका सबैजसो सदस्यको हत्या परिवारकै सदस्य ज्वाइँबाट भएको थियो । यद्यपि, ससुराली परिवार सखाप पारेर हत्यारा स्वयंले आत्महत्या गरेका थिए ।

घटना-४, ०७५ जेठमा सप्तरीको राजविराजमा परिवारकै हत्या भयो । सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले गरेको पुष्टि भयो  । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा हत्या गरेको उनले स्वीकारे ।

यी घटनाहरू प्रतिनिधि घटनामा मात्रै हुन् । सुन्दा पनि आङ सिरिंग हुने यस्ता आततायी घटना हाम्रो समाजका कठोर यथार्थ बनिरहेका छन् । सम्पत्तिको लागि हत्या, रिसीबीका कारण हत्या, बदला भावनाले हत्या, अर्काे प्रेममा परेपछि श्रीमान÷श्रीमतीको हत्या जस्ता घटना त दर्जनौँ हुने गर्छ ।

प्रेमी–प्रेमिकाबाट हुने हत्या पनि धेरै छन्, जुन आफन्तअन्तर्गत समावेश गरिँदैन । महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङ भन्छन्– अधिकांश हत्या आफन्तबाटै हुने गर्छ, आफन्तै नभएपनि चिनजानकै मान्छेबाट हुन्छ । यस्ता घटनामा चिनजानको मान्छेहरू कुनै न कुनै रुपमा संलग्नता भएको पाइन्छ ।’

मान्छेको सबैभन्दा ठूलो संरक्षक परिवार हो । तर, यहाँ परिवारबाटै हत्या गरिन्छ, बलात्कार हुन्छ । घरघरमा हुने यस्ता घटन रोक्न गाह्रो छ । घरघरमा न सुरक्षाकर्मी खटाउन सम्भव छ, न त व्यावहारिक नै ।

मान्छेको सबैभन्दा ठूलो संरक्षक परिवार हो । त्यसपछि आफन्त, समाज र समुदाय । तर, यहाँ परिवारभित्रैबाट हत्या गरिन्छ, बलात्कार हुन्छ । तत्कालीन राजा वीरेन्द्र शाहको पनि आफन्तबाटै हत्या भएको बताइन्छ । तर, अहिलेसम्म हत्यारा को हुन् भन्ने पत्ता लाग्न सकेको छैन ।

प्रायः घटनाहरूमा अंशबन्डा, यौन, पारिवारिक कलह, गरिबी, मदिरा सेवन जोडिएका हुन्छन् । श्रीमान् र श्रीमतीबीच एकअर्कामा विश्वास नहुँदा पनि हत्या हुने गरेको पाइन्छ । मदिरा सेवन गरेका वेला कुनै कुरामा तालमेल नमिलेर पनि हत्या हुने गर्दछ । केही आपराधिक घटनामा भने मानसिक रोगले ग्रस्त भएका व्यक्तिबाट पनि हुन्छ ।

आर्थिक अभावको कुनै व्यक्ति समाजमा उपेक्षित भइरहेको हुन्छन् । यस्तो अवस्थामा मानिसको मनस्थिति जतिबेला पनि अपराध गर्न उद्यत् हुन सक्छन् । एसएसपी खापुङ भन्छन्– आर्थिक अभावको कारण केहीले अरुलाई मारेर आफू पनि आत्महत्या गर्छन् । म मरेपछि मेरो घरपरिवारले दुःख पाउछ् । मेरो कारण छोराछोरी र परिवार कसैले पनि दुःख नपाओस् भनेर आफ्नो परिवार नै सखाप गरेर आत्महत्या गर्ने गरेको पाइन्छ ।’

रिसीबीका कारण पनि हत्या हुने गर्छ । रिस प्रायः आफन्तबाटै उठ्छ । कोही अपरिचितले रिस उठाएपनि मारिहाल्नु पर्छ भन्ने सोच्दैनन् । आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने महशुस हुन्छ र हत्या हुने गर्छ । एसएसपी खापुङ भन्छन्– ‘नचिनेको मान्छेलाई मार्नैपर्ने कुनै रिसीबी हुँदैन । अपरिचित मान्छेलाई कुनैबेला एक दुई थप्पड हान्नु सामान्य कुरा हो । तर, मार्नैपर्छ भन्ने केही कारण हुँदैन । कुनै दुर्घटना भयो भने मात्रै हो ।’

एकजनाको रिसीबीका कारण परिवार नै सखाप हुने पनि हुन्छ । आफ्नो पहिचाहन लुकाउनको लागि अबोध बालबालिकाले समेत ज्यान गुमाएको घटना धेरै छन् । ‘नजिकको मान्छेले हत्या गरेको छ भने बच्चाहरूले पनि चिन्छन् भन्ने लाग्छ । बच्चाहरूलाई पनि मारेपछि आफ्नो पहिचाहन लुकाउन सजिलो हुन्छ भन्ने एउटा भ्रम हुन्छ । त्यसैले पनि सामूहिक हत्या हुने गर्छ,’ एसएसपी खपुङ भन्छन् ।

बदलाको भावनाले पनि चिनजानकै र आफन्तबाटै हत्या हुने गरेको पाइन्छ । कसैको कारणले मेरो परिवार तहनहन भयो भन्ने लागिरहेको पनि हुन्छ । त्यसैले बदला लिने उद्देश्यले पनि हत्या हुन्छ । त्यसको एक उदाहरण हो– भागरथी भट्टको हत्या ।

गत माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी मृत अवस्थामा फेला परिन् । केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोलीले भागरथीको हत्यारा उनकै भाइ पर्ने दिनेश भट्ट भएको ठहर ग¥यो । १७ वर्षीय दिनेशले प्रहरीसमक्ष फुपुको बदला लिन भागरथीको हत्या गरेको बयान दिए । उनले भनेका थिए– ‘भागरथीका बुबाले मेरी फुपुमाथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन हत्या गरे ।’

यस्ता घटनाका अपराधी पहिचान गर्न केही सजिलो भएपनि त्यस्ता घटनालाई रोक्न प्रहरीलाई चुनौतीपूर्ण छ । घरघरमा हुने हत्या रोक्न त असम्भव जस्तै छ । किनभने न घरघरमा सुरक्षाकर्मी खटाउन न सम्भव छ न व्यावहारिक नै । यस्ता अपराध रोक्ने जिम्मा प्रहरीको मात्र होइन । समाजका सबै एकाइ सक्रिय हुनुपर्छ ।

एसएसपी खापुङ भन्छन्– हत्या चाहिँ अनुसन्धान गर्न सबैभन्दा सजिलो केसमा पर्छ । यो मान्छेलाई मार्नुपर्ने रिसीबी÷बदला कस्को भन्ने आधार पनि हुन्छ । बरु चोरी गाह्रो हुन्छ । टाढाको मान्छेलाई मार्नु पर्ने कुनै रिसीबी हुँदैन । मार्नुपर्ने रिसीबी आफन्त या नजिकको मान्छेसँग नै हुन्छ ।’

अहिले हरेक अपराधिलाई कहीँ न कहीँबाट संरक्षण मिलिरहेको पाइन्छ । हत्या जस्तो घटना बाहिर आउला, तर यौन हिंसा र बलात्कार भित्रभित्रै दबिरहेको हुन्छ । जसले गर्दा घरघरमा हुने अपराध अझ डरलाग्दो हुन्छ । यस्तो अपराधबाट जोगिन आफै सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । विस्तारै क्रुर हुँदै छ, जिद्दी स्वभाव बढ्दै छ, कुनै पनि कुरालाई रूपान्तरित गर्न नसक्ने, आफ्नो विषयमा सचेत नहुने, ड्रग्स, अल्कोलिक हुँदै छ भने त्यस्ता मान्छेबाट सजग हुनुपर्ने विज्ञहरू बताउँछन् ।

यस्ता घटना न्यूनीकरण गर्न एकदमै गाह्रो र प्रहरीले मात्रै केही गर्न नसक्ने एसएसपी खापुङ बताउँछन् । उनी भन्छन्– ‘मिडिया, सामाजिक सञ्जाल, विद्यालय र घरपरिवारबाटै यस्ता अपराधबाट सजग गराउन जरुरी छ, प्रहरीले मात्रै केही गर्न सक्दैन, । सबैलाई काउन्सिलिङ गरेर सकिँदैन ।’

आपराधिक क्रियाकलापबाट सजग गराउन मिडिया, सामाजिक सञ्जाल, परिवार र विद्यालयको सबैभन्दा ठूलो हात हुने एसएसपी खपुङको भनाइ छ । उनी भन्छन्– ‘यस्तो कार्य अपराध हो र यस्ता काम गर्नु हुँदैन भन्ने सामग्रीहरू सामाजिक सञ्जाल मिडियाले उत्पादन र प्रसारण गर्नुपर्छ । यस सम्बन्धि पाठ्यक्रममा समेत समावेश गरिनुपर्छ । पाठ्यक्रम निमार्ण गर्दा बच्चाहरूको उमेरअनुसार अपराध सम्बन्धिका सामग्रहरू समावेश गर्दै जानुपर्छ । नत्र यस्ता अपराधिक घटनाहरू न्यूनीकरण गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्