Logo
Logo

घोडाघोडी सिमसारलाई ‘चरा अभय आरण्य क्षेत्र’ बनाइँदै



धनगढी । चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ ।
घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो । नगरपालिकाको १३औँ नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ ।

चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र बुझिन्छ । नेपालमा अहिलेसम्म कहिँ पनि बर्ड सेन्चुरी बनेको छैन ।

चराको संरक्षण र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले घोडाघोडी सिमसार क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले बताए । उनले भने, ‘बर्ड सेन्चुरी बनाउने विषय नगर सभाबाटै पारित भएको छ ।’ निर्णयअनुसार नगरपालिकाले चालु आर्थिक वर्षभित्रै घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र घोषणा गर्ने जनाइएको छ ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् ।
कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा जलचरा ६४ प्रजातिका पाइने गरेको जनाइएको छ । बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् ।

घोडाघोडी सिमसारलाई नगरपालिकाको पहिचान र गौरवको विषयको रुपमा चरा अभय आरण्य क्षेत्र घोषणा गरिने बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए । उनका अनुसार विश्वमा दुर्लभ चरा प्रजातिकोसमेत बसोबास रहेको यो सिमसारलाई मुलुकमा विद्यमान वन सम्बन्धी ऐन, कानून अनुसार ‘बर्ड सेन्चुरी’ घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्