Logo
Logo

उपभोक्ताको नाममा वडा अध्यक्षबाट हिनामिना, जिप्रकामा उजुरी




धनगढी । मोहन्याल गाउँपालिकामा विकासे बजेटमा नाममा किर्ते समिति गठन गरेर रकम हिनामिना गरेको पाइएको छ ।

मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजालीमगरले किर्ते उपभोक्ता समिति गठन गरेर सडक निर्माणको रकम हिनामिना गरेको स्थानीय अरुण बुढा मगरले आरोप लगाएका छन् ।

उनले भने, ‘मोहन्याल गाउँपालिकाका सबै वडामा सडक सञ्जाल पुगाउनका लागि गाउँपालिकाको १० लाख र प्रदेश सरकारको २४ लाखमा कटौजे-पाल्सा हुँदै धमकोट विरखेत र विरखेत—धमकोट हुँदै पाल्सा कटौजे सडक खन्न उपभोक्ता समितिमार्फत सम्झौता गरियो । र, काम पनि सम्पन्न भयो । तर, वडा अध्यक्षले बजेट निकासा गर्दा किर्ते समिति बनाएर भुक्तानी लिए ।’

उनले आफूले २४ लाखमा १० लाखको सडक खन्ने जिम्मा पाएको बताउँदै काम सम्पन्न गरेको दुई वर्ष वर्ष भइसक्दा पनि भुक्तानी नपाएको बताए । उनले भने, ‘हामी त ज्याला मजदुरी गरेर खाने वर्ग १० लाखको कामको ठेक्का लिएको थिएँ । काम पनि सम्पन्न भइसक्यो । तर, अहिले दुई वर्ष भइसक्दा पनि भुक्तानी पाएको छैन । ऋण, कर्ज गरेर मजदुरहरुलाई ज्याला दिएको हुँ । अब त साहुले पनि सताउन थाले आफूलाई पनि के खाउँ, के लाउँ भाएको छ ।’

उपभोक्ता समितिको अध्यक्षलाई जानकारीसमेत नदिइ सचिवमार्फत सम्झौता गराएको र काम सम्पन्न भइसकेपछि बजेट निकासा गर्दा किर्ते अध्यक्ष बनाएको आरोप लगाए । उनले वडा अध्यक्षलाई काम गरेको रुपैयाँ माग्दा अर्कै योजनामा खर्च भएको भन्ने गरेका छन् ।
उनले उपभोक्ता समितिमार्फत निकासा गर्नुपर्ने बजेट वडा अध्यक्षले किर्ते फाइल खडा गरेर निकासा गरेको बताउँदै वडा अध्यक्षले विभिन्न योजनाका बजेट यसरी नै निकासा गर्ने गरेको बताए ।

सार्वजनिक सम्पत्तिको दुरुपयोग

मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगरले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

स्थानीयका अनुसार कार्यालय भन्दा बढी तराईका होटलहरुमा भेटिने गरेका वडा अध्यक्षले सरकारी सम्पत्तिको दुरुपयोग गर्दै आएका छन । मोहन्याल गाउँपालिका वडा नम्बर ५ का स्थानीय सुनिता बुढा मगरका अनुसार धनगढीका होटल-होटलमा भेटिने गरेका वडा अध्यक्षले जनताको काममा भन्दा पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी किर्ते काम गर्दै आएका छन ।

उनले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बसपार्कका होटलमा प्रायः भेटिने गरेका वडा अध्यक्षले सरकारी नम्बर पिलेटको मोटरसाइकलको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘धेरैजसो धनगढी बसपार्कको कलेल होटलमा बसेर जाँड पार्टी गर्ने गरेका वडा अध्यक्षले सरकारी सम्पत्तिको दरुपयोग गर्दै आएका छन । भने विकासे बजेटको पनि हिनामिना गर्दै भ्रष्टाचारमा तल्लीन छन् ।’

वडा अध्यक्ष हौजाली मगरले सरकारी नम्बरको मोटरसाइकल दुई दिनदेखि धनगढी बसपार्कमा बेवारिसे अवस्थामा छोडेको बताउँदै उनले भने, ‘दुई दिनदेखि वडा कार्यालयको मोटरसाइकल धनगढी बसपार्कमा बेवारिसे देखेपछि सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु नागरिकको दायित्व भएकाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बुझाएका हौं ।’

संघीय संरचनामा देश गएसँगै सिंहदरवारको नारा गाउँगाउँमा घन्किएको थियो । अब त कामका लागि सिंहदरवार धाउनुपर्ने अवस्था हट्यो भनेर । तर, केही भ्रष्ट जनप्रतिनिधिका कारण संघीय संरचनामाथि प्रश्न चिन्ह्र खडा भएको छ ।

घरघरमा सिंहदरवारको नारा लगाउने जनप्रतिनिधिलाई छोटे राजाको संज्ञा दिँदै स्थानीयले देश संघीय संरचनामा गइसकेपछि भ्रष्टाचारमा बृद्धि भएसँगै सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्दै गएको बताए ।

स्थानीयका अनुसार सबै अधिकार जनप्रतिनिधिलाई दिइएका कारण उनीहरु आर्थिक प्रलोभनमा परी राजनीतिका नाममा लुटनीति गर्दैछन् । स्थानीय निर्वाचन भएको चार वर्ष भइसक्दा पनि गाउँपालिका कार्यालयको टुङ्गो लगाउन नसक्ने कर्मचारीले कसरी विकास गर्छ ? भन्ने प्रश्न मोहन्यालका जनताले गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी

मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षबिरुद्ध स्थानीयहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दायर गरेका छन् ।
वडा अध्यक्ष छविलाल हौजाली मगरले चढ्ने से १ ब ७८२ नम्बरको सरकारी मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा बुझाएर मुद्दा दायर गरेका हुन् ।

उनीहरुले दुई दिनदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको बसपार्कमा बेवारिसे अवस्थामा रहेको वडा अध्यक्ष हौजाली मगरले चढ्ने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बुझाउँदै उनीबिरुद्ध अविलम्बन पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

पछिल्लो समय विकासका नाममा जनप्रतिनिधिबाट नै सर्वसाधारण जनता ठगिदै गएका छन । मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि त उदाहरण मात्रै हुन् । यस्ता धेरै जनप्रतिनिधिहरु छन् । जसले जनताको श्रम शोषण गर्दै आएका छन । र विकासका नाममा भ्रष्टाचार गरेका छन् ।
यता मोहन्याल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई बुझ्दा बजेट निकासाको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘अरुण बुढा मगरले काम त गर्नुभएको हो । तर, भुक्तानी पाए नपाएको थाहा छैन ।’

सार्वजनिक सवारीको दुरुपयोग गरेको विषयमा उनले आफू धनगढी आएको र मोटरसाइकल कलेल होटलमा राखेर घर गएको दावी गरे । ‘विहीबार राती घर जानुपर्ने काम भएकाले मोटरसाइकल धनगढी बसपार्कस्थित कलेल होटलमा राखेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्