Logo
Logo

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण



धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिममा पनि सो निर्णय लागू भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र सुदूरपश्चिममा पनि वितरण सरु भएको हो । सो चालक अनुमतीपत्र वितरण सुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

आइतबार एक कार्यक्रमबिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण कार्यको शुभारम्भ गरे ।

परीक्षणकालीन सवारी चालक अनुमतीपत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यता अन्त्य भएको बताए । ‘बाटोमा चेकिङ हुने र त्यसका लागि चिट बोक्नुपर्ने थियो । पानीले भिज्ने, हराउने झन्झटबाट मुक्ति पाइएको छ, यसमा प्रदेश सरकारले पूर्ण सहयोग गरेको छ’, उनले भने ।

१ वर्ष म्याद भएको सो अनुमतीपत्र क्यूआर प्रविधिबाट जाँच गर्न मिल्ने जनाइएको छ । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतीपत्र वितरण भएदेखि अनुमती पत्रका लागि १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालीन अनुमतीपत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेको भएपनि बिचमा ३० वर्ष परीक्षणकालीन लाइसेन्स वितरण बन्द गरिएको थियो । चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको जनाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको बताए ।

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको उनले बताए । १ वर्ष अवधिभर ५ वटा गल्ती गरेमा लाइसेन्सनै खारेज हुने व्यवस्था गरिएको छ । अब लाइसेन्सको परिक्षा पास गरेको १ सातामै परिक्षणकालीन अनुमतीपत्र लिन सकिने यातायात कार्यालयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्