Logo
Logo

स्वास्थ्य रहन कस्तो जीवनशैली अपनाउने ?



काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ र मन प्रशन्न हुनु आवश्यक छ । त्यसका लागि स्वस्थ जीवनशैली अत्यावश्यक हुन्छ । तर, पछिल्लो समय प्रदूषण र अस्वस्थकर जीवनशैली बढ्दो छ । त्यसैले स्वास्थ्यमा विशेष ध्यान राख्न जरुरी हुन्छ । मानिस स्वस्थ रहेमात्र हरेक काम प्रभावकारी ढंगले गर्न सक्छ । त्यसैले यस्ता संकल्प गर्दा धेरै हदसम्म स्वस्थ रहन सकिन्छ :


कस्तो खाना खाने ?

– पछिल्लो समय फास्टफुड प्रयोग गर्ने प्रचलन बढ्दो छ । जुन स्वास्थ्यका लागि राम्रो मानिँदैन । किनकि यस्ता खानेकुरामा अत्यधिक मात्रामा नुन र चिनीको मात्रा हुन्छ । जसका कारण शरीरमा अनेक रोगले घर बसाउन सक्छ । त्यस्तै, फास्टफुडलाई लामो समय टिकाउनका लागि विभिन्न केमिकलको प्रयोग गरिन्छ । जसले स्वास्थ्यमा दुष्प्रभाव पार्छ । त्यसैले स्वस्थ रहनका लागि फास्टफुडबाट टाढा रहन जरुरी हुन्छ । त्यसैले, प्राकृतिक आहारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ ।

विशेषगरी बालबालिकालाई विद्यालय उमेरदेखि नै जंकफुडबारे सचेत गराउन जरुरी हुन्छ । किनकि, यस्तो खानेकुराले हुर्कंदै गरेका बालबालिकामा शारीरिक र मानसिक विकासमा अवरोध सिर्जना गर्छ ।

गर्मीयामसँग कोल्डड्रिंक्सको खपत अत्याधिक हुने गर्छ । तर, यस्तो पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सकेसम्म बट्टामा प्याकिङ भएर आएका चिसो पेय पदार्थको सेवन गर्नुहुँदैन । बरु घरमै तयार पारेर सर्वत, कागतीपानी, मही आदिको प्रयोग गर्दा स्वस्थकर हुन्छ ।

हामीले सन्तुलित र पोषिलो भोजनमा ध्यान दिनुपर्छ । हरियो तरकारी, फलफूल, गेडागुडी, अन्डा, माछा, मकै, दही, मही, फापर, गहुँ, रेसादार खानेकुरालगायतको सन्तुलित प्रयोग गर्दा स्वस्थ रहनका लागि सहयोग पुग्छ । धेरैले पेटभरि खाने प्रचलन हुन्छ । जसलाई गलत मानिन्छ । यसरी खाँदा मोटोपना, भुँडी बढ्ने, कोलेस्टेरोल बढ्ने, मधुमेहजस्ता समस्या निम्तन्छ ।

कति खाने ?
ब्रेकफास्ट : अ‍ेभी ब्रेकफास्ट लिनुपर्छ । ब्रेकफास्टमा फलफूल, फापरको रोटी, अन्डा, दूधलगायतको प्रयोग गर्दा हुन्छ ।
लन्च – लन्च त्यति बढी गर्नुहुँदैन । खानालाई चार भागमा विभाजन गरेर खाने गर्नुपर्छ । सागसब्जी, सलाद, अन्न र गेडागुडी, दालको प्रयोग गर्नुपर्छ ।


दिउँसोको खाजा स्न्याक्सका रूपमा फलफूलको मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।
बेलुकाको खाना – बेलुकाको खाना अलि थोरै मात्रा प्रयोग गर्नुपर्छ । बेलुका भात खानुलाई त्यति राम्रो मानिँदैन । खाए पनि थोरै मात्र प्रयोग गर्नुपर्छ । बेलुकाको खानामा रोटी, दाल, साग र सलादको प्रयोग गर्दा राम्रो हुन्छ । खाना खाएको करिब २ घन्टापछि मात्र सुत्नुपर्छ ।

मौसमी फलफूल

मौसमी फलफूल खाने बानी बसाउनुपर्छ । मौसमअनुसारका फलफूल सुलभ हुन्छ र स्वस्थकर पनि । बेमौसमी फलफूललाई लामो समय टिकाउन केमिकलको प्रयोग गर्ने सम्भावना भएकाले यसको प्रयोग त्यति नगर्दा राम्रो ।

आफैँले उत्पादन गरेको सागसब्जी खाँदा अझ स्वस्थकर हुन्छ । यदि घरमा करेसाबारी छैन भने कौसी वा गमलामा पनि उब्जनी गर्न सकिन्छ ।

स्वस्थ जीवनशैली

पछिल्लो समय नसर्ने रोगको बिगबिगी छ । यसको मुख्य कारण हाम्रो आहारविहार र अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीका कारण मुटुरोग, क्यान्सर, मधुमेह, थाइराइड, मानसिक रोगजस्ता समस्या हुने गर्छ ।

शारीरिक व्यायाम

स्वस्थकर जीवनका लागि शारीरिक व्यायाममा संकल्प गर्न आवश्यक हुन्छ । त्यो किनभने हाम्रो स्वास्थ्य पनि एक प्रकारको मेसिन हो । त्यसैले यसलाई स्वस्थ बनाउन र टिकाउनका लागि शारीरिक क्रियाकलापको पनि जरुरी हुन्छ । त्यसैले नियमित व्यायाम गर्न जरुरी हुन्छ ।

नियमित बिहानमा एक घन्टा हिँड्ने बानी बसाल्दा राम्रो हुन्छ । यस्तो बानीले शारीरिक तथा मानसिक समस्यामा कमी आउँछ । त्यसका साथै योग र ध्यान पनि गर्न सकिन्छ ।

हरेक दिन कम्तीमा २० मिनेट घाममा बस्नुपर्छ । यसो गर्दा शरीरमा भिटामिन डीको कमी हुँदैन । काठमाडौंका करिब ९० प्रतिशत मानिसमा भिटामिन डीको कमी छ ।

सामाजिक सञ्जालको कम प्रयोग

सामाजिक सञ्जालको बढी प्रयोग एक प्रकारको कुलत हो । यस्तो कुलत सबै उमेरका मान्छेमा हुन सक्छ । मोबाइल वा कम्प्युटर स्क्रिनमा बसेर सामाजिक सञ्जालको बढी प्रयोग गर्दा आँखा, घाँटीलगायतको समस्या हुनुका साथै रिंगटा लाग्ने, एकाग्रता नहुने, स्मरण शक्ति कमजोर हुने तथा पारिवारिक एवं सामाजिक सम्बन्धमा प्रतिकूल असर पर्ने समस्या देखिन सक्छ । यसले नकारात्मक सोचको विकास पनि हुन्छ । राति अबेरसम्म सामाजिक सञ्जालमा बस्दा निद्रामा असर पुग्छ । स्वास्थ जीवनका लागि दैनिक ६–८ घन्टा सुत्न जरुरी हुन्छ ।

सकारात्मकता

स्वास्थ जीवनका लागि सकारात्मक सोचको पनि विकास गर्नुपर्छ । मानिसले जे गर्छ, सोच्छ, व्यवहार गर्छ उसको स्वास्थ्य पनि त्यस्तै हुन्छ । अरूको कुरा काट्ने, अरूबारे नराम्रो सोच्ने, ईष्र्या गर्ने, महत्वकांक्षी हुनेजस्ता परिपाटीलाई बिस्तारै हटाउनुपर्छ । सहयोगी र सकारात्मक सोचले आत्मविश्वास पनि बढाउँछ ।

यसबाहेक विश्राम गर्ने, पटक–पटक पानी पिउने, गुनगुनाउने, नाच्ने, हाँस्ने, हाइकिङ गर्नेजस्ता कुरामा पनि ध्यान राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्