Logo
Logo

मदिरा संघमा हात हालाहाल



काठमाडौं । नेपाल मदिरा उत्पादक संघको असोज पहिलो साता सम्पन्न साधारणसभामा नक्कली स्टिकरसम्बन्धी मुद्दा उठेपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भयो । हालै आन्तरिक राजस्व कार्यालय धनगढीले नक्कली स्टिकरका कर्मचारी र उद्योगमाथि कारवाही गरेपछि उक्त सूचना मदिरा उत्पादकहरुले नै दिएको भनेर विवाद चर्किएको थियो ।

धनगढीमा पक्राउ परेकामध्ये एक जना वैजु बावरा साहका नातेदार छन् । साहले तिनै नातेदारको माध्यमबाट धनगढीमा नक्कली स्टिकर ल्याउने र त्यो स्टिकर आफ्नो उत्पादनमा प्रयोग गरेर करोडौं राजस्व छल्ने गरेको आरोप छ । विवादास्पद साहकको रौतहटमा ज्योति डिष्टिलरी छ । जुन डिष्टिलरीबाट स्प्रिड र मोलासिस पनि उत्पादन हुँदै आएको छ ।

यता, बुटवल राजस्व अनुसन्धान विभागले अहिलेसम्म नक्कली स्टिकरका मालिकलाई पक्राउ गर्न सकेको छैन । एक महिनादेखि अनुसन्धानको नाममा नक्कली स्टिकरका मालिकलाई जोगाउन खोजेपछि विभागका प्रमुख राजन विसी सरुवा भएका छन् ।

साधारणसभामा यस विषयमा पनि मदिरा उत्पादकबीच भनाभन भएको थियो । संघका अध्यक्ष रवि केसीले आन्तरिक राजस्व विभागमा पुगेर महानिर्देशक शोभाकान्त पौडेलसमक्ष नक्कली स्टिकर प्रयोग गर्ने मदिरा उद्योगका मालिकमाथि कारबाही गर्नुपर्ने माग गरेपछि मदिरा व्यवसायीहरु साधारणसभामा केसीमाथि खनिएका थिए ।

विभागका महानिर्देशक पौडेलले भैरहवामा पक्राउ परेको नक्कली स्टिकरका मालिकलाई पक्रिएर छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । स्रोतका अनुसार महानिर्देशक पौडेलले राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई तुरुन्त रिपोर्ट बुझाउन आग्रह गरेका छन् ।

मदिरा उत्पादक संघको साधारणसभा सक्कली र नक्कली स्टिकरको व्यापार गर्ने मदिरा व्यवसायीबीच विवाद चुलिएपछि केसीले अध्यक्ष पद छाडेका छन् । अहिले संघको अध्यक्षमा बैजु बावरा साह निर्वाचित भएका छन् ।

प्रस्तुत समाचारबारे सम्बन्धित व्यक्तिबाट प्राप्त खण्डन प्रकाशित गरिएको छ । –सम्पादक

श्री सम्पादकज्यू
दृष्टिन्यूज डट कम
काठमाडौं, नेपाल

मिति २०७८ आसोज १३ गते प्रकाशित ‘मदिरा संघमा हात हालाहाल’ शीर्षकको समाचारमा समावेश केही तथ्यहरुमा मेरो ध्यानाकर्षण भएको छ । धनगढीको नक्कली स्टिकर प्रकरण र त्यो प्रकरणमा जोडिएका व्यक्तिसँग मेरो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छु । मेलै आजसम्म राज्यको नीति नियम विपरित कुनै पनि गतिविधि नगरेको र राज्यलाई तिर्नुपर्ने कर नियमित रुपमा तिर्दै आएको जानकारी गराउँदै यो समाचार खण्डन गर्न चाहन्छु ।

बैजुप्रसाद बाबारा
१३ असोज २०७८

प्रतिक्रिया दिनुहोस्