Logo
Logo

‘हेलो सीएम’को फोनै उठ्दैन, कर्मचारीलाई हाइसन्चो ‘गुनासै आउँदैन’



धनगढी । बुधबार त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाँदै गरेका डोटीका अमर भट्ट उदास देखिन्थे । देशमा तीन तहका सरकार आए, तर हाम्रो अवस्थामा कुनै परिवर्तन आएन, उनले भने– मैले भारतमा चौकीदारी गर्न थालेका १२ वर्ष भयो, म जस्तै मजदुरी गरेका त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन्, उनले आफ्नो भविष्य बनाए, हामीलाई रोजगारीका लागि भारत जानु पर्दैन भन्थे, गफै रहेछ !

घर खर्च चलाउन हामी कहिलेसम्म भारतको भर पर्ने ? उनलाई यो प्रश्न मुख्यमन्त्री समक्ष राख्न मन थियो । ‘मुख्यमन्त्री भट्टले प्रदेशमै रोजगारीका अवसर सिर्जना गछौँ भनेका थिए तर अब त उहाँको कार्यकाल पनि सकिने बेला भयो, हाम्रो समस्या कहिले समाधान हुन्छ भनेर सोध्न मन थियो । तर, हाम्रा कुरा उहाँ सुन्न हुन्न, गुनासो सुन्ने ‘हेलो सीएम’ छ भन्ने सुनेको थिए त्यसमा पनि फोन नै उठेन ।’

जनताका गुनासा सम्बोधन गर्ने भनेर ०७५ जेठ ७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सीएम’ शुभारम्भ भएको घोषणा गरेका थिए । त्यही दिन पहिलो पटक डोटीको शिखर नगरपालिका-२ का करणजन शाहीले हेलो सीएममा फोन गरी धनगढीको ट्राफिक व्यवस्थाबारे गुनासो पोखेका थिए । गुनासो टिपाएको तीन वर्ष पुग्दा पनि धनगढीको ट्राफिक व्यवस्था उस्तै छ । न भयो सम्बोधन, न गरिन्छ वास्ता ।

हेलो सीएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नम्बर १६६०-९१५२७२३ को व्यवस्था गरिएको छ । तर, हेलो सीएममा दुई वर्ष यता गुनासो आएका छैनन् ।

२०७५ साल जेठ ७ मा स्थापना भएदेखि सर्भिस डेलिभरी र विकास निर्माणका कामबारे १ सय ८९ गुनासा आए । तर, ती गुनासो सम्बोधन नभएपछि गुनासो नै आउन बन्द भयो ।

‘दुई वर्ष पहिले मैले छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै हलो सीएममा गुनासो टिपाएको थिए तर अहिलेसम्म समस्या उस्तै छ,’ धनगढी हसनपुरका विजय मल्लले भने– ‘सम्बोधन नहुने भए गुनासो गर्नुको के अर्थ, त्यसपछि मैले गुनासो नै टिपाउन छोडे अरूले पनि हेलो सीएममा फोन गर्न छाडेछन् ।’

घोडाघोडीका गणेश भण्डारी समस्या टिपाउन हेलो सीएममा फोन गरे पनि फोन नै नउठेको गुनासो गर्छन् । ‘जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सुशासनको अनुभूति गराउने भन्दै हेलो सीएम सुरु भयो तर, त्यसबाट यहाँका नागरिकले लाभ लिन सकेनन्, भण्डारीले भने, ‘गुनासो आउँदैन भन्छन् गुनासो गर्नलाई फोन पनि त उठ्नु पर्योनी ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विश्वदीप वेस्रा पछिल्लो समय गुनासो आउन छोडेको बताउँछन् । ‘म सरुवा भएर आएको ५ महिना भयो, यो अवधिमा एउटा पनि गुनासो आएको छैन, त्यसअघि पनि डेढ वर्ष यता गुनासो आएको देखिएन,’ उनले भने, ‘हालसम्म १ सय ८९ गुनासा परेका छन् । त्यसमा पनि खानेपानी, बिजुली, टेलिफोन, पूर्वाधार विकास, सामाजिक, स्वास्थ्य र आर्थिक सेवासँग सम्बन्धित गुनासा धेरै छन् ।’

‘हेलो सीएम कक्ष स्थापना भएको सुरुको वर्षमा गुनासो बढी आए, बिचमा कमी आए, आएका गुनासामध्ये केहीको बाहेक अधिकांशको सम्बोधन भएको छ,’ उनले भने । विगतका वर्षमा हेलो सीएम कक्षका लागि छुट्टै बजेट नरहे पनि चालु आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरिएकाले हेलो सीएम कार्यक्रम थप प्रभाकारी हुने विश्वास गरिएको छ ।

‘हामीले प्रभावकारी ढङ्गबाट हेलो सीएमलाई सञ्चालन गछौँ, अहिले हामीले गुनासो टिप्न एक जना कर्मचारी पनि खटाएका छौँ,’ प्रवक्ता वेस्राले भने– ‘आएका गुनासालाई प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने र बाहिरका दुबैलाई सम्बन्धित निकायमा लिखित रूपमा पत्राचार गरेर सम्बोधन गर्ने गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्