Logo
Logo

प्रहरीलाई सुत्ने खाट समेत छैन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ बैशाख ।
नेपाल प्रहरीका धेरै प्रहरीहरु अझै भुईमा सुत्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । जून समस्या समाधान गर्न प्रहरीले ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जस अन्र्तगत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना अघि बढाइएको एसएसपी उत्तमराज सुवेदीले बताए ।
त्यस्तै करिब ११ सय प्रहरी कार्यालयमा अझै शौचालय समेत छैन । त्यसमध्ये सात सय कार्यालयमा शौचालय बनाउने योजना प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।
सानो गल्ती हुँदा पनि प्रहरीको सधैं आलोचना हुने गरेको छ । प्रहरीका अत्याबश्यक सुविधा समेत पाउने गरेका छैनन् । यसतर्फ राज्यले ध्यान दिन सकेको छैन ।


२२ हजार थप दरबन्दी माग

विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजार भन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतीका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ, सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारी साधन समेत आवश्यकता रहेको उनको भनाई छ ।
१८ हजार सुरक्षा समिति गठन
प्रहरीले जिल्ला, स्थानीय तह तथा टोलमा गरेर १८ हजार चार सय ६९ वटा समुदाय– प्रहरी समिति गठन गरेको छ । समुदायसँग मिलेर शान्ति सुरक्षा मिलाउन यस्ता समिति गठन भएका हुन् ।
७७ जिल्ला, सात सय ४२ स्थानीय तह, पाँच हजार पाँच सय ७५ वडा, पाँच हजार सात सय ५३ टोल समिति गठन भएका छन् । त्यस्तै ६ हजार तीन सय २२ बिद्यालयसँग प्रहरीले सम्पर्क समिति गठन गरेको छ ।
यो अवधिमा प्रहरी स्कुलहरुमा गएर पढाएको समेत छ । प्रहरीको ‘प्रहरीसँग एक दिन’ कार्यक्रम अन्र्तगत एक लाख ९४ हजार पाँच सय ७८ बिद्यार्थी तथा १० हजार दुई सय ८ अभिभावक लाभान्वित भएका छन् । गत ११ कात्तिकदेखि लागू भएके यो कार्यक्रम निकै प्रभावकारी भएको प्रहरी प्रवक्ता सुवेदीको दाबी छ । देशका सात सय ५३ स्थानीय तहमध्ये प्रहरीले डोल्पाको शे फोक्सुन्डो गाउँपालिका र गोरखाको चुमनुम्री गाउँपालिका बाहेक सबैसँग सम्झौता गरिसकेको छ । कार्यक्रम अन्र्तगत समुदायबाट २२ करोड ६५ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको प्रहरीले जनाएको छ ।
‘यो कार्यक्रमले प्रहरकिो राष्ट्रव्यापी सञ्जाल बनेको छ,’ प्रवक्ता सुवेदीले भने,‘सूचना संकलनमा सहजता हुनुका साथै समाजमा प्रहरीप्रति सकारात्मक सन्देष प्रवाह भएको छ ।’

प्रतिक्रिया दिनुहोस्