तिनाउ संरक्षणमा करोडौँ सकियो, अझै स्याउलाकै बाँध « Drishti News – Nepalese News Portal
Logo

तिनाउ संरक्षणमा करोडौँ सकियो, अझै स्याउलाकै बाँध


दामोदर खनाल


बुटवल । हाम्रो विकासको माडेल पनि गजबकै छ । लुम्बिनी प्रदेशको राजधानी बुटवलको तिनाउ नदिमा स्याउलाको बाँध बाँधेर सिचाइका लागि पानी लगिएको छ । तिनाउ पुलमुनिबाट पश्चिमतर्फ दानव नदी बगेको छ । जुन नदी रुपन्देहीको पश्चिम–दक्षिण भेगका किसानका हजारौँ बिगाह खेत सिचाइँको लागि प्रयोग हुने महत्वपूर्ण आधार हो । तर, यसको महत्व न पालिकाले बुझेको छ, न त संघीय सरकारले ?

कृषिमा आधुनिकीकरणको कुरा गरेपनि ब्यवहारमा तिनाउ र दानव नदी संरक्षणका लागि वर्षेनी करोडौँ रुपैयाँ खर्च भइरहेको छ । तर, प्रभावकारी काम हुन नसक्दा नदीबाट सिचाईमा आश्रित किसानहरु पुरानै स्याउलाले बाँध बाधेर सिचाई गर्न बाध्य छन् । तिनाउ र दानव नदीमा सिचाईका लागि कुलो र बाँध निर्माणको लागि जिल्ला सिचाई कार्यालयबाट समेत पटक पटक गरि करोडौँ रुपैयाँ खर्च भइरहेको छ ।

तिनाउ र दानव संरक्षणका लागि जनताको तटबन्ध कार्याक्रमअन्र्तगत पनि हालसम्म झण्डै ८० करोडबढी रकम सकिएको तथ्यांकले देखाउँछ । तर, किसानहरु भने पुरानै परम्पराअनुसार स्याउलाले बाँध बाँधेर कुलोमा पानी लैजान बाध्य छन् ।

योजना स्पष्ट र भरपर्दो नहुँदा कामले सार्थकता पाउन नसकेको हो । किसानले आफुले जान्दादेखि धान, गहुँ लगाउने बेलामा खेत कुलाई गर्न स्याउलाको बाँध बाध्न वाध्य छन् । सयौँ किसान कुलो निर्माण गर्न बर्षेनी मोटरसाईकल, साईकल, टेक्टरमा आ–आफैँले स्याउलाको भारि बोकेर कुलाई गरिरहेका छन् ।

तिनाउ र दानव नदी छुट्टिने ठाउँमा सिचाई कार्यालयले पटक पटक निर्माण गरेको बाँध व्यवस्थित र टिकाउ नहुँदा किसान वर्षेनी ८-१० किलोमिटर टाढादेखि भाटा, स्याउला, दाउरा ल्याएर पुरानै तरिकाले बाँध बाँधी कुलाई गरिरहेका हुन् । अहिले पनि तस्बिरबाट यो कुरामा स्पस्ट हुनसक्छ । हामीले हाम्रा योजना कार्यान्वयनको मूल्याँकन गर्न नसक्दा किसानले बर्षेनी यस्तो नियति भोग्न परेको हो ।

योजनाको काम राम्रो बन्यो बनेन, लक्षित बर्गले फाइदा पाए वा पाएनन् भन्दा पनि हामीमा बजेटमा र्याल काड्ने र गलत कामलाई ढाकछोप गर्ने प्रवृत्ति हावी हुँदा यस्तो भएको हो ।

यी नदीबाट हजारौँ किसान सिचाईमा आश्रित छन् । यी नदी ब्यवस्थित गरी सिचाई हुन सके मोतिपुर, रानीगन्ज, केवलपुर, अमुवाल, फर्साटिकर, मानपकडी, खजुरीयालगायत विभिन्न मौजा र गाउँका १०औँ हजार हेक्टर भूमिमा राम्रो सिचाई भएर कृषि उत्पादन बढ्न सक्छ । यस क्षेत्रका किसानले पनि आफुले जान्दादेखि तिनाउमा स्याउलाको बाध बाँधी सिचाई गर्न बाध्य हुँदै आएको बताउँछन् ।

तर, यहाँका सरोकारवाला निकाय बास्तबिक योजना बनाउन कहिल्यै लागेन । जसका कारण रुपन्देहीका किसान प्रत्येक वर्ष वर्षा याममा तिनाउमा आउने बाढीले नदी किनारका बाँधहरु भत्काइदिने हुँदा स्याउला, दाउरा, ढुङ्गाले चापेर बाँध बाँधी कुलाई चलाइरहेका छन् । तिनाउमा प्रत्येक बर्ष यो नियति दोहरिँदा पनि हाम्रा सरोकारवाल कति लाज छैन । अझ हाम्रा नेता र मन्त्री कृषिमा आधुनिकीकरणको भाषण गरिरहेका छन् । के अब पनि जनताले मन्त्री नेताका कुरा पत्याइरहनु पर्ने हो ?

यी नदी संरक्षणमा सरकारले केही गरेजस्तो देखिएपनि वास्तविक किसानले अहिलेसम्म राहत पाउन सकेको छैन । हाम्रो योजना किन भरपर्दो भएन ? कहाँ कसले बदमासी गर्यो ? त्यस्तालाई किन कारबाही भएन ? यस्ता कुराप्रति ध्यान नजाँदा नै हाम्रो समस्या दोहोरिरहेको छ ।
लोकतन्त्रको खिल्ली उडिरहेको छ । रुपन्देहीको तिनाउदेखि पश्चिम तर्फका ११ मौजाका १९ वटा गाउँ तथा खडगबनगाईका ११ वटा गाउँ, बेलभरिया, नयाँगाउँ ५ र ६ नम्बर तपाह र मोतिपुर लगायत ठाँउका किसान यही तिनाउबाट छुट्टिएर गएको दानव नदीको सिचाईमा आश्रित छन् ।

किसानले बारम्बार जिल्ला सिचाई कार्यालय र सरोकारवाला निकायलाई आफ्नो समस्याबारे जानकारी गराउँदै आएपनि कतैबाट ठोस निकास ननिस्कँदा र तिनाउमा स्तरीय काम नहुँदा आफुहरुले दुःख पाइरहेको उनीहरुको गुनासो छ । तर, हाम्रा नेता विकासका सपना र भाषण बाँड्न छोड्दैनन् । यो कस्तो बिडम्बना ?

तिनाउ दानवमा बाँधिएका बाँध, ठोक्कर, गेभियनवालहरु निर्माण गर्दा कमजोर निर्माण सामग्रि प्रयोग गरिनु नै समस्याको जड हो । अर्कोतिर पालिकाहरुले यस क्षेत्रमा जथभावी नदी दोहन हँुदा मौन बस्नुले सिचाईमात्र प्रभावित भएको छैन, कतिपय बस्तीसमेत खतरामा पर्दै गएको छ ।

चुरे संरक्षण आयोजनाको पनि तिनाउँ दानव संरक्षणप्रति खासै चासो पुगेको देखिँदैन । तिनाउ दानव संरक्षण र सिचाई कुलोका लागि खर्र्चिएको रकम वाँडीचँुडी नेता, प्राविधिक तथा ठेकेदारको खल्तीमा पुग्ने गरेकाले नै योजनाको रकम बालुवामा पानी सावित भइरहेको छ । र, सम्बन्धित निकायले ठोस र भरपर्दो योजना ल्याउन नसक्दा किसान खेतीपातीका लागि आकाशे वर्षा, ट्युवेल, ढापको पानीमा भरपर्नुपरेको छ । सिचाईको समस्याकै कारण रुपन्देहीमा धान, गहुँ, बेमौसमी तरकारी खेतीको राम्रो उत्पादन हुन नसकेको किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्