Logo
Logo

भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी गान्धी जयन्ती मनायो



काठमाडौं । नेपालस्थित भारतीय दूतावासले विभन्न कार्यक्रम गरी गान्धी जयन्ती मनाएको छ । जयन्तीकाे अवसरमा ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित उक्त प्रदर्शनीको उद्दघाटन गरेका छन् ।

भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।

सोही अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ को आयोजना गरिएको छ । त्यस्तै भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान)ले सोही भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा दूतावासका अधिकारी, भारतीय समुदाय विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए ।

गान्धी जयन्तीकै अवसरमा नेपाल–भारत पुस्तकालयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थी उपस्थिति थिए । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिनुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्नत भएको छ ।

शनिबार बिहान भारतीय दुतावास प्राङ्गणमा अवस्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरूले माल्यार्पण री सम्मान प्रकट गरेका थिए ।

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्