Logo
Logo

मरेर लैजाने केही छैन : मन्त्री श्रेष्ठ

रोटरी अवार्ड वितरण समारोह



काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले गत शुक्रबार होटल सोल्टीमा ‘डिष्ट्रिक अवार्ड एण्ड रिकगनेशन सेरेमोनी’ आयोजना गरेर सन् २०१९–२० मा उत्कृष्ट काम गर्ने क्लबहरुलाई पुरस्कृत गरेको छ ।

कोरोना संक्रमणको सुरुवातसँगै सिंगो रोटरी क्लब कोरोना संक्रमण रोकथाम, सचेतना अभियान र विभिन्न अस्पतालहरुलाई भेन्टिलेटरलगायत उपचार सामग्री उपलब्ध गराउने काममा खटेको थियो । सन् २०१९–२० मा कोरोना महामारी र लकडाउनका कारण रोटरी अवार्ड कार्यक्रम स्थगित भएको थियो ।

सन् २०१९–२० को सबैभन्दा बढी पदक र पुरस्कार रोटरी क्लब अफ रत्ननगरले प्राप्त गरेको छ । रोटरी क्लब रत्ननगरको सन् २०१९–२० को सर्वोत्कृष्ट क्लब घोषित भएको छ । त्यसैगरी रोटरी क्लब अफ चितवन दोस्रो र रोटरी क्लब अफ बुटवल तेस्रो घोषित भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा चितवन मेडिकल कलेजका डा. हरिशचन्द्र न्यौपानेलाई विशेष सम्मान गरिएको थियो । सन् २०१९–२० मा रोटरी फाउण्डेशनलाई आर्थिक सहयोग गर्नेमा नेपाल विश्वकै रोटरी क्लबमा पहिलो पंक्तिमा परेको थियो । उक्त फाण्डेशनमा रोटरी इन्टरनेशनल ३२९२ बाट करिब २४ करोड रुपैयाँ पठाइएको थियो । जसमध्ये ५ लाख ५० हजार अमेरिकी डलर डा. न्यौपानेले सहयोग गर्नुभएको थियो ।

उक्त समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएको बताउनुहुँदै आगामी चैत महिनाभित्र सम्पूर्ण नेपाली जनतालाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । रोटरी क्लब अफ काठमाण्डपका पूर्व प्रिसिडेन्ट हुनुभएका मन्त्री श्रेष्ठले रोटरी क्लबबाटै समाज सेवामा लाग्ने प्रेरणा पाए पनि साँच्चै समाजसेवा गर्नु पर्दोरहेछ मरेर लैजाने केही पनि रहेनछ भन्ने कुरा आफूलाई कोरोना भएपछि महसुस भएको अनुभव बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले कमाएको सम्पत्तिको आधा अंश स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताउनुभयो । नेपालमा पनि धन भएका धेरै रोटरियनहरु छन्, तिनीहरुलाई पनि स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

समारोहमा सन् २०१९–२० का डिष्ट्रिक गभर्नर किरनलाल श्रेष्ठल नेपालको हरेक रोटरी क्लबले आ–आफ्नो ठाउँमा सबैले उत्कृष्ट काम गरेकोले डिष्ट्रिक ३२९२ विश्वका अन्य देशका रोटरी क्लबहरुभन्दा अब्बल भएको दाबी गर्नुभयो ।

पूर्वगभर्नर श्रेष्ठले कोरोनाले बाँच र बाँच्न देऊ भन्ने कुरा हरेक नागरिकलाई सिकाएको छ । त्यसैले शिक्षा र स्वास्थ्यमा रोटरी क्लबले अझ राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

समारोहमा कोरानाका कारण समयमै पुरष्कार वितरण गर्न नपाएको कारण दुई वर्ष पछाडि यो पुरस्कार वितरण समारोह आयोजना गर्नुपरेको कुरा उल्लेख गर्दै पूर्वगभर्नर श्रेष्ठले पद भनेको आउँछ, जान्छ तर मानिसले आफ्नो कर्तव्य भुल्नु हुँदैन, निरन्तर समाज सेवा नै रोटरीको उद्देश्य हो भन्नुभयो ।

समारोहमा सन् २०१९–२० को कोरोनाकालमा रोटरीको गतिविधिलाई निरन्तर स्थान दिइएकोमा दृष्टि अनलाइनलाई सम्मान गरिएको थियो । उक्त समारोहलाई रोटरी इन्टरनेशनलका प्रिसिडेन्ट शेखर मेहताले ‘भर्चुअल’ सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्