Logo
Logo

उद्योगी व्यवसायीद्वारा उद्यौगिक व्यावसायिक वातावरण बनाइदिन आग्रह



बुटवल । राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण उद्योग व्यवसाय धरासायी भएको भन्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २८औं सल्लाहकार सभामा बोल्ने उद्योगी व्यवसायीहरुले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायमैत्री वातावरणको अभावलगायतका कारण निजी क्षेत्रका उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा पुगेको भन्दै सरकारलाई निजी क्षेत्रमैत्री नीति र कार्यक्रम बनाएर व्यावसायिक वातावरण बनाइदिन आग्रह गरेका छन् ।

उनीहरुले मुलुकमा व्यावसायिक वातावरण विकास हुन नसकिरहेको अवस्थामा कोरोना महामारीले आफूहरुका लागि थप जोखिममा परेको बताएका छन् । राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्नका लागि पनि मुलुकमा व्यावसायिक वातावरण अपरिहार्य रहेको उनीहरुको भनाइ थियो । उनीहरुले व्यावसायिक वातावरण बनाइदिन पनि सरकारसँग माग गरे ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै आयात प्रतिस्थापनको लागि प्रतिस्पर्धी वस्तुको उत्पादनमा जोड दिए । उनले सरकारले लिएको सीमा खुला गर्ने नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने र विस्तारै अर्थतन्त्र पूर्ण स्वचालित हुने विश्वाससमेत व्यक्त गरे ।

प्रजिअ तिवारीले मोतिपुर औद्योगिक करिडर क्षेत्रको जग्गा अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले कारोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको र संघ सरकारको महत्वपूर्ण साझेदारको रुपमा रहेको भन्दै सरहाना गरे ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विषयगत उद्योगी व्यवसायीका समस्या पहिचान गर्न सहज होस भनेर वस्तुगत समिति गठन गरिएको र गठित समितिले दिएका सुझाव सल्लाहअनुसार समस्या समाधानका लागि संघले पहल पैरवी तथा व्यावसायिक विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यावसायिक वातावरणको अभाव लगायतका कारणले उद्योगी व्यवसायी मारमा परेको बताएका छन् । अध्यक्ष कसजुले सरकारले ४० माईक्रोन भन्दा कमको प्लाष्टिक उत्पादन, आयात निर्यात तथा बिक्रीवितरणमा रोक लगाएका कारण सम्बन्धित उद्योगी समस्यामा परेको बताउँदै समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । संघको सहयोगमा आम्दा अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कोभिड वार्ड स्थापना गरिएकाले त्यस अवसरमा आर्थिक सहयोग गर्नेहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्ष नवराज श्रेष्ठ, छिमेकी उद्योग वाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, वित्तीय परामर्शदाता प्रदीपकुमार श्रेष्ठलगायतले उद्योग तथा व्यावसायिक क्षेत्रमा भएका समस्या उठान गर्दै मुलुकको अर्थतन्त्र सुदृढ गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए । उद्योगीहरुको बिना मागका आधारमा ट्रक लाइन जडान गर्ने र जडान गरेको ४ वर्षपछि मात्रै बिल दिनेजस्ता कार्यले उद्योगी व्यवसायी मारमा परेको उहाँहरुको भनाइ थियो । मुलुकको अर्थतन्त्र सुदृढ गर्नका लागि जग्गा अभाव भएको औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिएर मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम यथाशक्य चाँडो गर्न आग्रह गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले खुला सीमानाकामा कडाइ गर्नुपर्ने, कोरोना महामारीको जोखिम कायमै रहेकाले उद्योगी व्यवसायी तथा कामदार कर्मचारीलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध मिलाउनुपर्ने, बुटवल ज्योतिनगरको पहिरो सिंगो बुटवलकै जोखिमको रुपमा खडा भएकोले दीर्घकालीन समाधान खोजिनुपर्ने, सडक पूर्वाधार चाँडो सम्पन्न गर्नुपर्नेलगायतका कुरामा सरकार प्रतिबद्ध हुनुपर्ने भनाइ राख्नुभयो । महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको सम्पन्न कार्यक्रममा संघका पूर्वअध्यक्ष, सल्लाहकार, वस्तुगत समितिका संयोजकलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्