काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल आज आइतबार चीन भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जान लागेका हुन् ।

प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन् । यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए ।
सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् । ४५ औँ प्रधानसेनापति सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स पूरा गरेका थिए ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन् ।















