Logo
Logo

इपिएलमा म्याच फिक्सिङ ?



काठमाडौं । काठमाडौंमा जारी क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग(इपिएल)मा म्याच फिक्सिङको आशंकामा निगरानी सुरु भएको छ । बेटिङमा आबद्ध केही व्यक्तिहरुले खेलाडीहरुसँग भेटघाट गरेको सूचनासहितका उजुरी विभिन्न निकायमा परेका छन् ।

विभिन्न देशका खेलाडीलाई ल्याएर गरिएको यो प्रतिस्पर्धामाथि नेपाल क्रिकेट संघ(क्यान)ले सम्भावित म्याच फिक्सिङबारे अध्ययन गर्न कुनै कमिटी बनाएको छैन । आयोजक अमिर अख्तरको प्रभावमा क्यान परेकाले यसमा हुने अवैध गतिविधिले समेत छुट पाएको आरोप लागेको छ । यसरी प्रतियोगितामा आएका खेलाडीहरुले श्रम स्वीकृत गरेका छैनन् । उनीहरु पर्यटक भिसामा आएका हुन् । उनीहरुको पारिश्रमिक समेत गोप्य राखिएको छ । जसकारण यसमा कर छली हुनेदेखि कालोधनको लगानी हुने जोखिम देखिएको छ ।

त्यसो त इपिएलका कारण नेपाली क्रिकेटमा गुटबन्दी बढ्दै गएको छ । पछिल्लो समय इपिएलका सञ्चालक अख्तर र क्रिकेटर पारस खड्काबीचको विवादमा सतहकै आएको छ ।

अख्तर क्रिकेटमा नाममा २० वर्षदेखि राजनीति गर्दै आएका छन् । सुरुमा उनले क्यानका अध्यक्ष विनयराज पाण्डेको चर्काे आलोचना गरे । पछि क्यानमा माओवादी नेता टंक आङबुहाङ आएपछि उनलाई साथ दिएर राजनीतिमा लागे ।

त्यतिबेला उनले पावरकै भरमा एनपिएल गराउने अधिकार पाए । जबकि, कुनै पनि देशले राष्ट्रिय लिग यसरी प्राइभेट कम्पनीलाई गर्न अनुमति दिँदैन । यो विषय विवाद भएपछि क्यानले उनको जोरा इन्टरनेशन नामक कम्पनीलाई कालोसूचीमा राखेर सम्झौता रद्द ग¥यो । पछि उनले नै एपिएल लगाए । त्यसमा प्रक्रिया पूरा नगरेको पाइएपछि आइसिसीले नेपाल क्रिकेट संघ(क्यान)लाई निलम्बन गरेपछि उनले एपिएल गर्न थाले । त्यो आइसिसीबाट अनुमति नभएको खुलेपछि ठूलो विवाद भयो । त्यसपछि आइसिसीलाई २० हजार डलर तिरेर विवाद मिलाएका थिए । त्यतिबेला राष्ट्रिय क्रिकेट टिमका पारस खड्का लगायतले उनलाई साथ दिएका थिए ।
तर, पछिल्लो समय पारस र उनीहरुबीच विवाद चर्किदै गएको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल तथा क्यानका बोर्ड सदस्य छुम्बी लामा लगायतले क्विन्स् इभेन्ट् दर्ता गरेर पोखरा प्रिमियर लिग गराउन थालेपछि अख्तर त्यसविरुद्ध लागे । जसले गर्दा पारस लगायत खेलाडीले इपिएल खेल्न छाडे । इपिएलको व्यवस्थापन राम्रो नभएको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए ।

पछिल्लो समय क्यानको अध्यक्ष बनेका चतुरबहादुर चन्द लगायतलाई हातमा लिएर अख्तरले नेपाली क्रिकेटमार्फत आफ्नो स्वार्थ पूरा गरी यसमा थप राजनीति भित्राएका छन् । इपिएलमा विदेशी खेलाडी ल्याउँदा राजनीति गरेको आरोप उनीमाथि लागेको छ । प्रतियोगितामा भाग लिन पाकिस्तानी खेलाडी साहिद अफ्रिदी आएका थिए । अफ्रिदीलाई मुस्लिम आयोगका अध्यक्षदेखि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई समेत भेट्ने वातावरण बनाइयो । अन्य देशका चर्चित खेलाडी नेपाल आए पनि पहिला विशिष्ट व्यक्तिहरु भेटाउन पहल नभएको तर अफ्रिदीका नाममा मदरासामा सहयोग ल्याउन उनलाई मात्र महत्व दिएको आरोप लागेको छ ।

पछिल्लो समय पारस खड्का र मेलिना र बिल गेट्स फाउण्डेसनको सहयोगमा चौधरी समूहले सञ्चालन गरेको बलियो नेपाल अभियानमा सहभागी थिए । त्यसविरुद्ध अख्तरले आइसिसीबाट राजीनामा दिने चेतावनी दिए । त्यसपछि पारसले राष्ट्रिय टिमबाट सन्यास लिएका थिए । यसरी दुई जनाबीचको लडाईको असर नेपालको क्रिकेटमा पर्ने जोखिम बढ्दै गएको खेलाडीहरु बताउँछन् । यसमा क्यानको पदाधिकारीको भूमिका समेत प्रभावकारी हुन सकेको छैन । यो राजनीतिले नेपाली क्रिकेटलाई फेरि ओरालो लगाउने जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्