Logo
Logo

चाडपर्व मनाउन फर्किने नेपाली एसएसबीबाटै लुटिन्छन्



धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गौरिफन्टमा नेपालीहरुले सास्ती भोग्नु परेको छ । रोजगारीका लागि भारत गएका नेपालीहरुले हरेक वर्ष चाडपर्वको बेला सस्ती भोग्दै आउनुपर्ने बाध्यता छ ।

भारतमा रोजगारी गरेर घर फर्कने नेपालीहरु भारतीय एसएसबी र नेपाली अटोरिक्सा चालकबाट लुटिँदै आएका छन् । भारतीय एसएसबीले सीमानाकामा झोला चेकजाँच गर्ने र पाँच सय रुपैयाँ माग्ने गरेको भारतबाट रोजगारी गरेर घर र्फकने नेपालीहरु बताउँछन् ।

उनीहरु भन्छन– ‘नेपाल प्रवेश नगरुन्जेल भारतीय एसएसबीले सताउने गरेको र नेपाल आएपछि पनि अटोरिक्सा चालकहरुले लुट्ने गरेका छन् ।’ हरेक वर्ष चाडपर्वको समय नेपालीहरु भारतीय एसएसबी र नेपालीहरुबाटै ठगिने गरेका छन् ।

भारतको पुनामा रोजगारी गरेर घर चाडपर्व मनाउन घर फर्केका चुरे गाउँपालिका वडा नम्बर १ का टेकबहादुर बमले भने–
म सोमबार रातिको ९ बजे गौरिफन्टा नाकामा पुगेको हुँ । तर, नेपाल प्रवेश गर्नुभन्दा पहिले भारतीय एसएसबीले मेरो झोला चेकजाँच गर्यो र केहिपनि भेटाएन । त्यसपछि पाँच सय नदिएसम्म नेपाल प्रवेश गर्न दिन्नँ भन्यो ।’

एसएसबीलाई पाँच सय तिरेर नेपाल प्रवेश गरेका बम नेपालमा पनि गठिए । १० मिनेट अटोरिक्सा चढेका उनलाई चालकले एक हजार रुपैयाँ भाडा लियो । उनले भने, ‘नेपाल प्रवेश नगरुञ्जेल भारतीय एसएसबीले सतायो, नेपाल प्रवेश गरेपछि पनि अटोरिक्सा चालकले लुट्यो ।’

टेकबहादुर त उदाहरण मात्रै हुन्, उनी जस्ता हजारौं नेपालीहरुले सीमानाकामा यस्तै सास्ती भोग्नु परेको छ । रोजगारीका लागि भारत जानेहरुले नेपाल प्रवेश गर्नका लागि सहज वातावरण बनाइदिन सरोकारवाला निकायलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्