Logo
Logo
कांग्रेसकाे १४औँ महाधिवेशन

नेता सिंहको प्रश्न, ‘हामी सधैं झोले भएर हिँड्नु ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न १४औंँ महाधिवेशनमा जसरी पनि सभापतिमा लड्ने बताउँदै आएका छन् । अहिलेसम्म अरु नेताहरुलाई सघाउँदै आएको बताउँदै उनले भने ‘हामी सधैं झालेमात्र भएर त भएन नि ?, त्यसैले यसपाली सभापतिमा लड्ने निर्णय गरेँ ।’

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको बताउँदै नेता सिंहले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘के हामी सधैं झोलामात्रै बोकेर हिँड्नुपर्ने ?’

नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको भन्दै सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको बताए । उनले भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’

पार्टीलाई संस्थागत गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसमा गुट नै गुट रहेको भन्दै ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको बताए ।

नेता सिंहले भने, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३औँ महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’ उनले आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए । कांग्रेसले १४औँ महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्