काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ । उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो ।

भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो । अहिले बेपत्ता जहाजको खोजी कार्य भइरहेको छ ।
बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो । त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन नसकेको हो ।
प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा देखिएको थियो । उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन् । हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन ।
यसअघि पनि इन्डोनेसियामा यसअघि पनि जहाज डुबेर कैयौँ ठूला दुर्घटनाहरू भइसकेका छन् । यसअघि सन् १९८१ मा ताम्पोमास९२ नामक यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा करिब ४३० जनाको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २००६ मा खराब मौसमका कारण सेनोपाती नुसन्तारा नामक फेरी जाभा सागरमै डुबेको थियो। सो दुर्घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए ।
सन् २००७ मा लेभिना९१ फेरीमा आगलागी भएर डुब्दा ५० भन्दा बढीको ज्यान गएको थियो । सन् २०१८ मा लेस्तारी माजु फेरी दक्षिण सुलावेसी नजिकै डुब्दा ३६ जनाको मृत्यु भएको थियो ।















