Logo
Logo

जसपामा झेल, अन्तिम समयमा साहको नामा चल्यो ‘टिपेक्स’



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विहान मन्त्रीको नामावली टुंगो लगाएको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री हुनेको अन्तिम नामावली टुंगो लगाउने जिम्मेवारी पाएका थिए । सोही अनुसार उनले पार्टीबाट मन्त्री हुनेको नाम बिहान टुंगो लगाए पनि अन्तिम समयमा आएर एक नेताको नाममा टिपेक्स चलेको छ ।

अध्यक्ष यादवले जसपाबाट राजेन्द्र प्रसाद श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, प्रमोद साह मन्त्री हुने शीर्ष नेतासंगको सल्लाहमा गरेका थिए । यसको पुष्टि सोही पार्टीका नेता इतियाक राई सहितका नेताले गरेका थिए । राईले फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्दै बधाई दिएपछि मन्त्री हुने नेतालाई देशैभरीबाट बधाईको ओइरो लाग्यो ।

मिडियाले समेत जसपाले चार नेताको फोटोसहित समाचार प्रकाशित गरे । तर प्रधानमन्त्रीलाई दिएको लिष्टबाट अन्तिम समयमा जसपा नेता प्रमोद साहको नाममा टिपेक्स चलेको छ । प्रधानमन्त्रीले जसपाबाट मन्त्री हुनेको नामको लिष्ट लिँदा साहको नाम समावेश थियो ।

तर जब राष्ट्रपति कार्यालयबाट मन्त्रीहरुको जिम्मेवारी सहितको पत्र सार्वजनिक भयो त्यसमा साहको नाम नै देखिएन् । साहको ठाउँमा महेन्द्रराय यादवको नाम सार्वजनिक भएपछि पार्टीभित्र विवाद चर्किएको स्रोतको दावी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री भएका यादवको ठाउँमा साहको नाम नदेखिएपछि पार्टीभित्र तिब्र विवाद रहेको देखिन्छ । अध्यक्ष यादव आफैले सिफारिस गरेको नामावलीमा अन्तिम समयमा आएर किन टिपेक्स चल्यो अहिले जसपा भित्र खोजि भईरहेको छ ।

जसपाबाट यादव कृषि मन्त्री, रेणु यादव भौतिक पुर्वाधार मन्त्री, रामसहाय यादव वन मन्त्री र राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् । मन्त्री भएका श्रेष्ठ बाहेक तीनै जना यादव समुदायका नेता हुन् ।

‘यादव वाहेक अरुलाई महत्वपुर्ण जिम्मेवारी नदिने उपेन्द्रको पुरानै रोग हो । सोही कारण प्रमोद साहजीको नाममा अन्तिम समयमा आएर टिपेक्स चल्यो’ जसपा स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्