Logo
Logo

कर्मचारीको तलब बढ्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
बजेटको तयारी अघि बढेसँगै कर्मचारीहरुमा तलब बृद्धिको चासो पनि बढेको छ । गत वर्ष सरकारले तलब नबढाएकाले यो वर्ष बढाउने तयारी गरेको छ । कर्मचारी संगठनहरुले तलब बृद्धिका लागि दबाब दिन थालेका छन् ।

सरकारले चालू आवमा ‘सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाब दिन उच्चस्तरीय तलब आयोग’ गठन गर्ने घोषणा गरेको थियो । तर, आयोग गठन भएको छैन । अर्थ मन्त्रालयको कार्ययोजनाअनुसार तलब आयोग गत साउनमै गठन भइसक्नुपर्ने थियो । उक्त आयोगले तलब पुनरावलोकन गर्न कात्तिकमा सुझाब दिइसक्ने गरी अर्थले कार्ययोजना बनाएको थियो । तर, आर्थिक वर्ष सकिन साढे दुई महिना मात्र बाँकी रहँदा सरकार भने आगामी आवको बजेटको अन्तिम तयारीमा छ । सोही कारण उच्चस्तरीय तलब आयोग गठनको सम्भावना टरेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
कर्मचारीको तलब हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्ने कानुनी प्रावधान छ । निजामती सेवा ऐन २०४९ को दफा २७ अनुसार मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने तलब–भत्ता पुनरावलोकन समिति रहन्छ । यसले प्रत्येक दुई–दुई वर्षमा तलब पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्छ । चालू र अघिल्लो आवमा तलब नबढेको कर्मचारीको यसपटक कानुनअनुसार नै तलब बढ्ने अपेक्षा गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले बताए । ‘सरकार कानुनी प्रावधानमै टेकेर सञ्चालन हुन्छ भन्ने अनुभूति दिलाउन पनि यस वर्ष निजामती कर्मचारीको तलब बढ्नैपर्छ,’ उनले भने, ‘अहिले हामी छलफलका क्रममै छौँ ।’

दुई वर्षअघि २५ प्रतिशत बढेको थियो तलब
सरकारले पछिल्लो समय आर्थिक वर्ष ०७३÷ ७४ मा निजामती कर्मचारीको २५ प्रतिशत तलब बढाएको थियो । आव ०७४र७५ र चालू आव ०७५÷७६ मा तलब बढेन । चालू आवको बजेटले कर्मचारीको भत्ता बढाएको थियो । यस वर्ष तलब पुनरावलोकनमा सुझाब दिन गठन गर्ने भनिएको उच्चस्तरीय आयोग गठन हुन नसके पनि मुख्यसचिव अध्यक्षताको समितिले भने आफ्नो सुझाब दिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए । ‘समितिले कानुनी प्रावधान, पछिल्लो परिस्थिति, सरकारको आर्थिक क्षमताजस्ता विविध विषयको अध्ययन गरी सरकारलाई सुझाब दिन्छ,’ उनले भने, ‘त्यसकै आधारमा आगामी आवको बजेट नीति स्पष्ट हुन्छ ।’

उनका अनुसार यस वर्ष समितिको बैठक भने अझै बसिसकेको छैन । तलब पुनरावलोकन समितिको बैठकले आधिकारिक ट्रेड युनियनको समेत माग सुनेर निर्णय लिनुपर्ने आधिकारिक ट्रेड युनियनका अध्यक्ष धमलाले बताए । चालू आवको बजेटमा सरकारी ढुकुटीबाट कर्मचारीको तलब, भत्ता, पोसाक, खाद्यान्नजस्ता शीर्षकमा १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको छ ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आयोग गठन नभएपछि यसपटक कर्मचारीको तलब बढ्ने उच्च सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्