Logo
Logo

विकासको जिम्मा महिला मन्त्रीको काँधमा



काठमाडौं । विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ । पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ । त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन् ।

यी विकासे मन्त्रालय मानिन्छन् । संविधानमा हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने व्यवस्था भए पनि वर्तमान सरकारको २५ सदस्यीय मन्त्रिमण्डलमा ६ जना महिलालाई मन्त्री बनाइएको छ ।

मन्त्रिमण्डलमा ३३ प्रतिशत सहभागिता नभए पनि महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

सडक, जलविद्युत्, सिँचाइ आयोजना निर्माण, सहरी विकाससँग सम्बन्धित परियोजनाहरू समयमा सम्पन्न नभएर अलपत्र छन् । निर्माण क्षेत्रमा ठेकेदार कम्पनीको दबदबा छ । निर्माण क्षेत्रमा ‘माफियागिरी र डनवाद’ सधैं हाबी हुने गरेको चर्चा चल्छ । मन्त्रालयको नेतृत्व गर्दा आइपर्ने यस्ता कठिनाइसँग जुधेर काम गर्ने अवसर पाएका महिला मन्त्री कति सफल हुन्छन्, चासोको रुपमा हेरिएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्