असनमा तुलाधर समुदायले दशैं मनाए « Drishti News – Nepalese News Portal
Logo

असनमा तुलाधर समुदायले दशैं मनाए


दृष्टि संवाददाता


काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दशैं आज विशेष कार्यक्रम गरी मनाएका छन् । काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरुले एकापसमा दशैं मनाएका हुन् ।

प्रत्येक वर्ष सो समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए ।

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दशैं को टीका लगाउने परम्परा छ । यहाँ आज आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो ।

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए ।

सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।

तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता भने फरक फरक भए पनि तीनले राष्ट्र संस्कृतिलाई विशिष्ट बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्