Logo
Logo

नेकपा गुटहरुको महासंघमा परिणत भयोः घनश्याम भुषाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । नेकपा गुटहरुको महासंघ बनेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।


पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको बिलौना गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टी्भित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरू के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तो छ । गीतले भन्थ्यो– ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’

भुसालले नेकपा गुटहरूको महासंघ वा काउन्सिलमा परिणत भएको निष्कर्ष सुनाए ।‘हामी सिद्धान्तमा लरखरिएका छौँ । हेटौँडा महाधिवेशनपछि माओवादीले च्याप्टर क्लोज गर्दियो, हामीले चाहिँ नवौँ महाधिवेशनले गरेको निर्णयमा एकपटक केन्द्रीय कमिटीमा छलफलसम्म गरेनौँ, तल गएनौँ, नीतिले नेता चिनेन, नेताले नीति चिनेन,’ उनले भने, ‘सिद्धान्तको मूल जरो काटिदिएपछि अहिले बोनसाई झार भएको छ । जापानिजहरूले बोनसाईको मूल जरो काटेपछि गमलामा सजाउँदा रहेछन, अहिले वाम आन्दोलनमा सिद्धान्तको अवस्था बोनसाई झाङ गमलामा सजाएजस्तै भएको छ ।’

भुसालले दलाल पुँजीवादको क्यान्सरले पार्टीहरूलाई गाँजेकाले उपचार गर्न ढिलाइ भइसकेको जिकिर गरे । ‘सबै पार्टीहरूलाई फस्र्टस्टेजको होइन, सेकेन्ड वा थर्डस्टेजको जस्तो दलाल पुँजीवादको क्यान्सरले भित्रैसम्म गाँजेको छ,’ उनले भने, ‘त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्धान्तको भूमिका कच्याककुचुक पारिदिएको छ ।’ उनले पार्टीमा फोरम उपलब्ध नभएकाले पनि बाहिर कुरा राख्नुपर्ने स्थिति आएको बताए । अघिल्लो वर्षबाट सुरु भएको माक्र्सवादको प्रशिक्षण अभियानलाई देशव्यापी बनाउन लागिएको जानकारी दिँदै उनले २० हजार युवालाई प्रशिक्षित गराउने योजना सुनाए ।

प्रतिक्रिया दिनुहोस्