Logo
Logo

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टि



दैलेख । चिनियाँ कम्पनीले दुई वर्षअघि दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ । वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन ।

२०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो । कोभिड शुरु भएसँगै तीन महिनासम्म प्रारम्भिक अन्वेषणको काम सकेर चिनियाँ टोली फिर्ता भएको थियो । धन्नै दुई वर्ष ढिलो गरेर चिनियाँ टोलीले नेपाल सरकारलाई दिएको प्रतिवेदनमा दैलेखमा पेट्रोलियम पदार्थ रहेको उल्लेख छ ।

दैलेखमा पेट्रोलियम पदार्थ रहेको भनिए पनि कति परिणाममा र कहाँ–कहाँ छ भन्ने खुलाइएको छैन । खानी तथा भूगर्भ विभागले उत्खननका लागि लाग्ने खर्च र फाईदाबारे भने अन्तिम अन्वेषण (ड्रिलिङ गर्ने कार्य) बाँकी रहेको जनाएको छ ।

दैलेखको पञ्चकोशी क्षेत्रको पश्चिमतिर कम्तिमा चार किलोमिटरमा तत्काललाई एक ठाउँमा मात्र ड्रिलिङ हुने चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको भूगर्भ विभागले जनाएको छ । भौगलिक अवस्था अग्लो र होचो भएकाले ड्रिलिङ गर्ने ठाउँ अति संवेदनशिल रहेको जनाइएको छ । ‘चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ,’ भूगर्भ विभागका भूगर्भविद् सुधिर रजौरेले भने, ‘कोभिडले गर्दा ढिलाई भएको हो अब, ड्रिलिङ गर्ने कार्य सकिए पेट्रोलियम पदार्थ कहाँ कति मात्रामा छ पूरै विवरण आउँछ ।’

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चट्टान हेरेर जमिनमुनिको अवस्था कस्तो छ भनेर एमआरआई सर्भे गरिएको थियो । अब, चिनियाँ टोलीले ड्रिलिङपछि पेट्रोलियम पदार्थको भण्डारण, पेट्रोलियम पदार्थ रहेको क्षेत्र, उत्खननमा लाग्ने खर्च, फाईदालगायतका कुराहरुको अनुसन्धान गर्नेछ ।

भूगर्भविद् एवम् पेट्रोलियम परियोजना प्रमुख सुधिर रजौरेले चिनियाँ कम्पनीले ड्रिलिङ गर्ने काम शुरु गरेको कम्तिमा पाँच महिनापछि पेट्रोलियम पदार्थको बास्तविक अवस्थाको बारेमा पत्ता लाग्ने छ । अन्वेषणका क्रममा अनुसन्धान टोलीले जमिनमुनिमा कम्तिमा ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्नेछन् । अन्वेषणमा चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्भविद् टयान फुएनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्