Logo
Logo

सैनिक नियमावली संशोधन, तल्लो तहका सैनिक लाभान्वित हुने




काठमाडौं ।
तल्लो तहका सैनिकलाई फाइदा हुने गरी नेपाली सेनाले नियमावली संशोधन गरेको छ । संशोधनअनुसार सिपाहीबाट भर्ना भएकालाई बढुवाबाटै अधिकृतसम्म पुग्ने बाटो खुलेको छ ।


सैनिक सेवा नियमावलीको चौथो संशोधन गत १४ भदौमा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन सुरु गरिएको छ । तल्लो तहका कर्मचारीको मनोबल बढाउन पनि यस्तो व्यवस्था गरिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । सैनिक भर्नामा अपेक्षाभन्दा कम आवेदन पर्ने भएकाले पनि बढुवाबाट समेत पदपूर्तिसम्बन्धी प्रावधान संशोधन गरिएको उनको भनाइ छ ।

अधिकृतस्तरको सबैभन्दा आधारभूत पद सहायक सेनानीमा पदपूर्तिको व्यवस्था संशोधन गरिएको हो । यसअघि सहायक सेनानीमा रिक्त पदमध्ये खुला प्रतियोगितामार्फत ७० प्रतिशत तथा बाँकी ३० प्रतिशत पदमा आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति हुन्थ्यो । अब १० प्रतिशत बढुवा तथा आन्तरिक प्रतियोगितामार्फत २० प्रतिशत र बाँकी ७० प्रतिशत भने खुला प्रतियोगिताबाटै पदपूर्ति हुने भएको छ । तर, बढुवा र आन्तरिक प्रतियोगिताबाट पदपूर्ति हुन नसकेमा भने रिक्त पदलाई खुला प्रतियोगितामा जोडेर भर्ना हुने भएको छ । सहायक सेनानीमा कम्तीमा २२ वर्ष सेवा अवधि पुगेका प्रमुख सुवेदार र सुवेदार बढुवाका उम्मेदवार हुने संशोधित नियमावलीमा उल्लेख छ ।

यसअघि सिपाहीमा भर्ना भएकाहरू बढुवा भएर प्रमुख सुवेदारसम्म मात्र पुग्थे । केहीलाई मानार्थ रूपमा सहायक सेनानीलगायत पद दिने गरिएको थियो । अब भने रिक्त बढुवाबाटै उनीहरूका लागि अधिकृत हुने ढोका खुलेको छ । सहायक सेनानीमा बढुवा हुन अन्तिम तीन वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर न्यूनतम ६५ प्रतिशत ल्याएको हुुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

उपसेनानीमा बढुवाका लागि योग्यता हेरफेर
उपसेनानीमा बढुवाका लागि आवश्यक योग्यता पनि हेरफेर गरिएको छ । यसअघि अधिकृत क्याडेट तालिम गरेको न्यूनतम दुई वर्ष हुुनुपर्ने उल्लेख थियो, जसमा अधिकृत बेसिक तालिम वा पदिक वा बिल्लादार अधिकृत क्याडेट वा सोसरहको भन्ने उल्लेख छ । उपसेनानीमा तल्लो तहबाट बढुवा भएर समेत आउने भए पनि यस्तो प्रावधान राखिएको हो ।

नियम ३२ को (क) संशोधन गरी उपसेनानीदेखि माथि बढुवाका लागि मात्र तालिम पूरा गरेको भन्ने प्रावधान राखिएको छ । बढुवाबाट सहायक सेनानी भएका अधिकृतलार्ई उपसेनानी वा सोभन्दा माथिको दर्जामा बढुवा हुन कम्तीमा अधिकृत अभिमुखीकरण तालिम, प्रवेशिका परीक्षा वा आर्मी फस्ट क्लास उत्तीर्ण भएको हुनुपर्ने योग्यता राखिएको छ ।

त्यस्तै, यसअघि उपसेनानीदेखि प्रमुख सेनानीसम्मका पदमा बढुवाको अधिकार प्रधानसेनापतिलाई हुनेमा त्यसमा संशोधन गरी सहायक सेनानीदेखि प्रमुख सेनानीसम्मको अधिकार दिइएको छ । रथी पदमा बढुवाको प्रावधानलाई थप प्रस्ट बनाइएको छ । ‘उपरथीबाट रथीमा बढुवा गर्दा नेसनल डिफेन्स कोर्स वा नेसनल डिफेन्स युनिभर्सिटी वा रोयल कलेज अफ डिफेन्स स्टडिज वा वार कलेज वा सोसरहको तालिम पूरा गरेका र उच्चस्तरको कार्यसम्पादन मूल्यांकन भएका उपरथीमध्येबाट ज्येष्ठता क्रमअनुसार बढुवा समितिले सिफारिस गर्नेछ,’ नियमावलीमा उल्लेख छ ।

महासेनानी र प्रमुख सेनानीले लिने हायर कमान्ड तथा म्यानेजमेन्ट तालिमका लागि छनोटको मापदण्ड पनि संशोधन भएको छ । संशोधनमा स्वदेश तथा विदेशमा कमान्ड एन्ड स्टाफ कलेज तालिम उत्तीर्ण भएको वा गणपति तालिम वा आर्म्स् कमान्ड एन्ड स्टाफ कोर्स वा युनिट कमान्ड तथा कोर्स तालिम उत्तीर्ण गरेको र पछिल्लो तीन वर्षको नेकिबेदीको न्यूनतम औषत अंक ७० प्रतिशत प्राप्त गरेको वा मूल्यांकनको आधारमा छनोट भएको हुनुपर्ने राखिएको छ । मूल्यांकनको आधारमा कार्यसम्पादनबापत ५०, तालिमबापत ४५ तथा छनोट बोर्डको मूल्यांकनबापत पाँच अंक दिइन्छ । यो नेपालमा सञ्चालन हुने सबैभन्दा उच्च तहको सैनिक तालिम हो ।

प्रतिक्रिया दिनुहोस्