Logo
Logo

कोहलपुरमा प्रहरी संरक्षणमा जुवा फस्टायो




कोहलपुर ।
चाडपर्व सुरु भएसँगै कोहलपुरमा व्यवसायिक जुवा अखडाहरु बढेका छन् । प्रहरीकै संरक्षणमा यस्ता अखडा निर्धक्क चलेको स्थानीयले बताएका छन् ।


स्रोतका अनुसार इप्रका कोहलपुरले जुवाबाट मात्र मासिक तीन लाख उठाउने गरेको छ । डिएसपी रबिन्द्र खनालले घुमुवामार्फत पैसा उठाउने गरेका छन् । धेरै पैसा दिने जुवा खालमा घुमुवा प्रहरी नै सेन्ट्री बस्ने गरेका छन् ।


केही जुवाडेहरु हतियार बोकेर बस्ने गर्दछन् । कसैलाई खबर गरे गोली हान्ने भन्दै उनीहरुले पेस्तोल समेत देखाउने गरेको एक स्थानीयले बताए । प्रहरीकै समेत मिलेमतो भएपछि स्थानीयहरु खबर गर्न डराउँछन् ।


कोहलपुर पश्चिमको निकै संवेदनशील सहर हो । २४ जिल्लाको ट्रान्जिट प्वाइन्ट रहेको कोहलपुरमा अन्य अपराधिक घटना पनि बढेका छन् । केही समयअघि बैद्यनाथ गाउँपालिकामा नक्कली प्रहरीले बस लुटेकोमा हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । रातको समयमा लुटपाटको घटना बढेको छ । कतिपय होटलमा भने जुवा खाल सञ्चालन हुने गरेका छन् । दुर्घटनाका घटनामा इप्रका अगाडी घर भएका स्थानीय माइकल भन्ने व्यक्तिमार्फत प्रहरीले कमिसन बुझ्ने गरेका छन् ।


नेपालगञ्जमा पनि अवस्था त्यस्तै छ । डिएसपी मधुसुदन न्यौपाने, इन्सपेक्टर डिल्ली खड्का र घुुमवाले मिलेर ठूला जुवाखालमा संरक्षण दिने गरेका छन् । होटल सिद्धार्थको क्यासिनोमा नेपालीलाई प्रवेश दिने गरिएको छ । होटलमा बुटवलदेखि महेन्द्रनगरसम्म जुवाडे ल्याएर जुवा खेलाउने गरिएको छ ।


गत वर्ष पक्राउ परेका जुवाडेहरु मेघाश्री गुट्काका मालिक सन्तोगा ओली, रहमान, तरण गौतम लगायत अहिले पनि सक्रिय छन् । अर्का नामुद जुवाडे विनोद खड्काले जुवाबाटै करिब तीन करोड कमाएका छन् । जून पैसाले उनले काठमाडौंमा घर र गाडी हालै खरिद गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्