Logo
Logo

६ सयलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २० बैशाख ।
वैदेशिक रोजगारीमा जाने करिब ६ सय युवकलाई नक्कली बिमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बिमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
यसअघि नै कम्पनीका अन्य तीन कर्मचारी पक्राउ परेका थिए । कम्पनीका कर्मचारीहरू प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी काठमाडौं जिल्ला अदालतको आदेशबाट जेल चलान भइसकेका छन् । सोही ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिंहबहादुर लामा, भोला पोखरेल र ध्रुव रेग्मी भने धरौटीमा छुटेका छन् ।

यसरी भयो ठगी
१४ लाख रुपैयाँको वैदेशिक रोजगार बिमाबापत कम्पनीले चार हजार रुपैयाँ लिने गरेको थियो । अनुसन्धानमा खुलेका पाँच सय ७४ बाहेक पनि कम्पनीबाट नक्कली बिमालेख जारी भएको हुन सक्ने आशंका गरिएको छ । बिमाबापतको पैसा लिने र नक्कली बिमालेख जारी गरेर उनीहरूले ठगी गर्दै आएका थिए । नक्कली बिमालेखकै आधारमा वैदेशिक रोजगार कार्यालयका कर्मचारीले श्रम अनुमति दिँदै आएका थिए । यसमा केही म्यानपावर कम्पनीको समेत मिलेमतो देखिएको थियो ।

इन्स्योरेन्स कम्पनीको खातामा पैसा जम्मा भएको अवस्थामा समेत कम्पनीले सक्कली बिमालेख जारी नगरेको अनुसन्धानमा खुलेको छ । नक्कली बिमालेख जारी भएकोमा सक्कली बिमालेख जारी गर्न भनेर म्यानपावर कम्पनीले पत्र लेख्दासमेत ध्यान दिइएको थिएन ।

कतिपय बिमा एसीपेयी चेकमार्फत भएका थिए । सोही कम्पनीबाट बिमा गरेर मलेसिया गएका धादिङका एक युवकको उतै मृत्यु भएपछि बिमामा भएको ठगी खुलेको हो । ती युवकका परिवार बिमा दाबी गर्न कम्पनीमा जाँदा बिमा नै नगरेको पाइएको थियो । कम्पनीका प्रबन्धक रहेका शर्माकै यसमा संलग्नता रहेको भन्दै अदालतले समेत उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपछि सिआइबीले पक्राउ गरेको हो ।
इन्स्योरेन्सका सिईओ मनोज कुमार भट्टराई लगायतमाथि समेत छानबिन हुने सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्