Logo
Logo

अदालतको गेटमा खुकुरी प्रहार, मुद्दाको अनुसन्धानमा चलखेल ?




काठमाडौैं । अदालतको गेटमै खुकुरी हानी हत्या प्रयास गरेको घटनाको अनुसन्धान तथा अभियोजनमा समेत चलखेल भएको छ । गत १० असोजमा उच्च अदालत विराटनगरको गेटमा काभ्रेका कलामसिंह लामामाथि खुकुरी प्रहार भएको घटनामा संलग्नमाथि जोगाउनसरकारी वकिल कार्यालयमा चलखेल भएको हो ।


उनका व्यवसायिक साझेदार मोहम्मद साजिक मियाँकै योजनामा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मियाँ र खुकुरी प्रहारमा संलग्न विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य दुई जना अझै फरार छन् । भक्तपुरका रमेश राजवहाक र मोरङका नेत्र कट्टेल अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको छ । चारजनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन लागिएको छ ।

व्यवसायीक साझेदारीकै विषयमा विवाद हुँदा खुकुरी प्रहार भएको देखिएको मोरङका एसपी जनार्दन जिसीले बताए । ‘घटनामा संलग्न साझेदारसहित दुई जना पक्राउ परिसकेका छन्,’ एसपी जिसीले भने,‘दुई जना फरार छन्, उनीहरुको खोजी भइरहेको छ ।’
५० हजार रुपैयाँ दिएर लामाथि खुकुरी हान्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । योजनाकारमध्ये राजवहाक समेत भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा खुलेआम हिडेंपनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।

लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष आफूले ५० हजार रकम लिएर लामामाथि खुकुरी प्रहार गरेको वयान दिएका छन् । घटनामा जोडिएका मुख्य अभियुक्त भक्तपुर ठिमीका रमेश राजबाहक र मोरङका नेत्र कट्टेललाई पनि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागेपछि उनीहरुले अदालत र सरकारी वकिलको कार्यलयमा चलखेल गरेका छन्। राजबाहक र कट्टेलबिरुद्द कलामसिंह लामाले किटानी जाहेरी पनि दिएका छन्। उनीहरु दुबै जना प्रहरीको नजरमा फरार भएपनि बिराटनगरमा खुलमखुला हिँडिरहेका छन्। राजबाहकले कार्कीको बयान फेर्न लगाएर जोगिनका लागि सरकारी वकिलको कार्यालय र अदालतमा आर्थिक चलखेल गरेको आरोप छ।

लामालाई इटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर उनै राजबाहकले नै मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर लगानी गर्न बाध्य बनाएका थिए । दुई वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाबिक सर्तहरु राखेर दुःख दिएका थिए ।

तर, लगानी गराउनासाथ फाइदा खोजेका राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन उनले प्रशासनलाई समेत प्रयोग गरेको देखिन्छ । किनकी कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएको थियो ।

योजनाबद्ध रुपमा लामाका साझेदार मियाँले पनि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०–५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

यति हुँदाहुँदै पनि इटा उद्योगलाई सञ्चालन नै गर्न नदिई उनीहरु लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेको प्रहरी अनुसन्धानका क्रमममा खुलेको छ । प्रशासनले विना कारण बाहिरका व्यक्तिका उजुरीकै आधारमा उद्योग नै बन्द गरिदिएपछि प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो । प्रहरी अनुसन्धानका क्रममा राजबाहक, मियाँ र कट्टेलकै योजनामा लामामाथि आक्रमण भएको खुलेको छ । राजबाहकले कट्टेललाई लामामाथि आक्रमण गर्न सुपारी दिएका थिए । प्रहरीका अनुसार कट्टेलले फेरि कार्कीलाई खटाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्