Logo
Logo

बेमौसमी झरीले छोरासँगै बगायो खुशी



धनगढी । आइतबार रातिदेखि सुदूरपश्चिमभर भारी वर्षा भयो । पानी पर्ने रोकिने क्रम जारी थियो । गोदावरी नगरपालिका ७ का ३० वर्षीय गणेश आउँजी खुटिया नदीबाट ढुङ्गा उठाउन सोमबार बिहान ४ बजे घरबाट निस्किए । ट्रयाक्टर मजदुर राजु नेपाली र उनी मिलेर खुटिया नदीबाट ढुङ्गा संकलन गरीरहेका थिए । साहुनी (ट्रयाक्टर मालिक) सरिता खड्काले खाजा ल्याइन् । दुवै जनाले नदी छेउमै खाना खाए ।

बिहानको साढे ११ भइसकेको थियो । खाजा खाएपछि उनीहरू फेरी नियमित काममा लागे । पानी परिरहेको थियो । नदीमा पानीको बहाव पनि बढ्दै थियो । काम गर्दा गर्दै नदीमा बाढी आएको उनीहरूले थाह पाएनन् ।

त्यसको केही समयमा गणेशसँगै काम गरिरहेका राजुले भने– ‘नदीमा बहाव निकै बढिसक्यो अव के गर्ने ?’ गणेशले भने– ‘यस्ता नदीमा त सानैदेखि पौडी खेल्दै आएका छौँ के हुन्छ र ?’ यती भन्दै उनले नदीमा हामपालि हाले । सँगै रहेका राजुले पनि अर्को छेउमा हाम फाले ।

‘वर्षाको भेलसँगै उर्ली आएको नदीले गणेशलाई बगायो’, राजु भने, ‘नदीको छेउमा पुगे । हेर्दा हेर्दै गणेश खुटिया नदीमै बिलाए ।’

उनको खोजीका लागि स्थानीय, प्रहरीसँगै गोताखोरको टोली लागिपरेका छन् । उनी बेपत्ता भएको ५ दिन भयो । अझै उनको अत्तोपत्तो छैन । ‘हामीले बेपत्ता भएको खबर पाउने बेला देखिनै खोजी कार्य जारी राखेका छौँ, तर बेपत्ता गणेश भेटिएका छैनन्, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए । उनले भने, ‘सुरक्षा निकाय र स्थानीय मिलेर खोजिरहेका छौँ, नदीमा पानीको सतह घट्दै गएको छ, तर पनि फेला परेका छैनन् ।’

‘छोरासँगै खुशी पनि बग्यो’

गणेशको परिवारमा रुवावासी छ । उनकी श्रीमती, बुवा र आमा कसैको पनि आँखा ओभाएको छैन । उनीकी आमा धनसराले चार दिनदेखि खाना खाएकी छैनन् । श्रीमती रोइरहेकी छिन् । छिनछिनमा बेहोस हुन्छिन् । ‘हामी भन्दा प्यारा तमले प्यारा कइलाई मान्या, अब कइलाई भनी बाच्ने हौँ, हामीलाई पनि तमीसँग लैजाऊ प्यारा,’ रुँदारुँदै मुर्छापरिरहेकी छिन् उनीकी श्रीमती । आफन्त र छिमेकीहरूले उनलाई सम्झाइरहेका छन् । मृतक गणेशका एक छोरी र एक छोरा छन् । ५/७ वर्षका उनीहरु पनि ‘बाबा–बाबा’ भन्दै रोइरहन्छन् ।

३० वर्षीय गणेश अर्काको ट्रयाक्टर चलाएर परिवारको गुजारा चलाइरहेका थिए । घरमा कमाउने उनी मात्रै थिए । उनी पनि खुटिया नदीमै बिलाएपछि आउँजी परिवारको खम्बा ढलेको छ । उनीकी आमा धनसरा आउँजी भन्छिन्, ‘उसैले बचाएर बाचेका थियौँ, उ गयो अब हामी पनि जान्छौँ, मेरो कोही छैन एउटै सहारा पनि दैवले लुट्यो, अक उसका छोराछोरी र श्रीमतीलाई के लगाउन दिऊँ के खान दिऊँ ।’

धनसरालाई छोरा जीउँदो छ भन्ने आसै मरिसक्यो । उनी भन्छन्, ‘जिउँदो भेटिने त आस छैन अव त लास मात्रै भेटिए पनि ढुक्क हुन्थ्यौँ, हामीलाई कि सास चाहियो कि त लास, जिन्दगी उराठ लाग्दै छ, धेरै बाचिन्न होला ।’

बेपत्ता गणेशको खोजी कार्य भने जारी छ । स्थानीय र प्रहरीले नदीमा खोजिरहेका छन् । गणेश बेपत्ता भएको पाँच दिनमै उनको घरमा बलिरहेको चुलो पनि निभ्न थालेको छ । घरमा रहेको खाद्यान्न सकिन थाल्यो तर राहतका नाममा उनका परिवारले अहिलेसम्म केही पाएका छैनन् ।

गौरीगङ्गा, गोदावर टिपर तथा ट्रयाक्टर व्यवसायि समिति अध्यक्ष करन बोगटीले राहतको लागि पहल भइरहेको बताए । ‘ढुङ्गा सङ्कलन गर्ने क्रममा गणेश बगे, हामीले खोजी कार्य जारी राखेका छौँ, पीडित परिवारलाई क्षतिपूर्तिका लागि पनि छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्