Logo
Logo

खेतमै कुहियो धानः किसानलाई ३ अर्बको क्षति



धजगढी । धनगढी उप-महानगरपालिका ७ मटियारीकी पानमती सार्की असोज ३१ गते दिउँसो दशैँको रमझममा थिइन् । मौसम सफा थियो । दशैँको अघिल्लो दिन उनले खेतको धान काटेकी थिइन् ।

दशैँ सकिएपछि धान भित्र्याउने उनको योजना थियो । तर रातिबाट वर्षा सुरु भयो । वर्षाबाट जोगाउन उहाँले काटेको धान त्रिपालले छोपे । भारी वर्षालाई त्रिपालले के छेक्थ्यो । उनकै १० कट्टा खेतको धान सबै भिजेर उम्री सक्यो । शुक्रवार खेतमा भिजेको धान सडकमा बोकेर भिजाउँदै थिए, पानमती ।

पानी पर्छ भन्ने जानकारी नै थिएन, दिउँसो मौसम सफा नै थियो रातिबाट अचानक पानी पर्न थाल्यो, उहाँले भन्नुभयो- चार दिन लगातार पानी प¥यो । हामीले धान जोगाउन सकेनौँ, मेरो त खेत पनि छैन, अधियाँमा धान खेती लगाएको थिए, सबै पानीले बिग्रियो अब के खाने, के साहुलाई दिने ।

त्यस्तै, मटियारीकै दीप्ति रानाको पनि साढे दुई बिघा जमिनको धानबाली पानीमा भिजेर नष्ट भयो । ७ जनाको उनकोे परिवार कृषिमै निर्भर छ । धानबाली खेतमै नष्ट भएपछि कसरी छाक टार्ने भन्दै उहाँको परिवार पनि चिन्तामा छ ।

खेतको सबै धान भिज्यो, अहिले त कुहिन थालेको छ, अब कसरी गुजारा चलाउने होला, दीप्तिले भने- भिजेको धान सुकाउँदैछौँ खै कति काम लाग्छ, हाम्रो धान खेतमै नष्ट भयो, अब सरकारले खाद्यान्न सहयोग गरे बाच्छौँ, नत्र हामी भोकमरीमा पर्छौँ ।

खेतमै उम्रिएको धानको मुठा देखाउँदै रामदुलारी राना भन्छन्- ‘हेर्नुहोस् धान कुहिसकेको छ, वाला उम्रिसकेका छन्, अव के काम लाग्छ यो धान सबै बिग्रियो तर पनि खानकै लागि भएपनि केही धान सुकाएर खान मिल्छ कि भनेर लागिपरेका छौँ, केही दिन खानको लागि त घरमा धान छ तर त्यो कतिदिन टिक्छ र ? हामीलाई सरकारले राहत तथा क्षतिपूर्ति दियो भने सहज हुने थियो ।’

कञ्चनपुरको पुनर्वास नगरपालिका १० की सीता चौधरीको खेतछेउ हुँदै नदी बग्छ । नदीमा पानीको बहाव बढ्दा सीताको खेतको धान पनि नदीसँगै बग्यो । अरूको खेतको धान त भिज्यो मात्र मैले त एक बिघा खेतको धान पनि पाएन, सबै नदीले बगायो, सीताले भने- अव के खाने, वर्षभरिको आहारा नदीले बगायो मैले कसरी गुजारा चलाउने, क्षतिको विवरणका लागि त कृषि विकास निर्देशनालयबाट आएका छन्, तर खै हामीले राहत पनि पाउँछौँ कि पाउँदैनौँ ।

तीन अर्बको धानबालीमा क्षति
बेमौसमी वर्षाका कारण सुदूरपश्चिममा तीन अर्ब बढीको क्षति भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक विवरण अनुसार तीन अर्बको धानबाली क्षति भएको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति भएको छ ।

यो वर्ष मनसुन राम्रो थियो, विगतको तुलनामा १० देखि १५ प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान थियो तर त्यसको ठिक उल्टो भयो, भित्र्याउने बेलामा मौसमले साथ नदिँदा हामीले ठूलो क्षति भोग्नुप¥यो, कृषि विकास निर्देशक जोशीले भने- ‘हामीले क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ, १ गते देखिनै हामीले हाम्रा संयन्त्रहरूलाई परिचालन गरेका छौँ,किसानको खेतमै पुगेर उहाँहरूको मर्का बुझिरहेका छौँ ।’

किसानलाई राहत र प्रोत्साहन दिन्छौँ : भट्ट
किसानहरूलाई क्षतिको विवरण सङ्कलन गरी उचित राहत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयो ।

बेमौसमी वर्षाका कारण यति ठूलो क्षति होला भन्ने आँकलन नै थिएन, मुख्यमन्त्री त्रिलोचन भट्टले भन्नुभयो— हामीले किसानको मर्का बुझेका छौँ, अहिले पूर्णरुपमा क्षतिको विवरण पनि आएको छैन, हाम्रा संयन्त्रहरू परिचालन गरेका छौँ, स्थानीय सरकारलाई पनि यथाशीघ्र क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छौँ, हामी किसानका लागि उचित राहत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्छौँ ।’

किसानहरूको अन्न खोसिएको छ, उहाँहरूलाई राहत हामीले दिनुपर्छ, वर्षभरीको मेहनत खेर जाँदा उहाँहरूमा कृषि पेसाप्रति वितृष्णा फैलिन सक्छ, यस्तो बेला हामीले प्रोत्साहनका कार्यक्रममा पनि जोड दिनुपर्छ, उनले भने, – स्थानीय, प्रदेश र संघीय सरकार गरी हामीले तिनै तहको सरकारबाट किसानहरूलाई राहत उपलब्ध गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्