Logo
Logo

‘अर्ली इलेक्सन’ सम्भव छैन : नेता पौडेल



धनगढी । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नभएको बताएका छन् ।

शुक्रबार बिहान धनगढीमा पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’बारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताएको थिए । तर, शनिबार वरिष्ठ नेत पौडेलले ‘अर्ली इलेक्सन’ विरोधाभास र असम्भव भएको बताएका हुन् ।

सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुुगेका वरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने– ‘हामै्र पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनर्स्थापना भएर सरकार बनेको छ, अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो हैन ।’

संसदको पूर्णकालका लागि आफूहरु लडेकाले ‘अर्ली इलेक्सन’को कुरा सम्भव नभएको र यो संसदले पाँच वर्षे कार्यकाल पूरा गर्ने उनले बताए । पार्टीको महाअधिवेशनबारे बोल्दै नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको बताए ।

उनले भने, ‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन, चाँडो टुंगाएर प्रक्रिया अगाडि बढाउनु पर्छ ।’

डडेल्धुरामा जिल्ला सभापतिले नै वहिष्कार गरेको अवस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको नेता पौडेलको आरोप थियो । उनले भने, ‘पार्टी सभापतिकै जिल्ला डडेल्धुरामा सदस्यता विवाद छ, त्यहाँ पुनः अधिवेशन गराउनुपर्छ ।’

सुदूरपश्चिममा बाढीपहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताए । उनले भने, ‘म यहाँका प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिनेछु, सरकारलाई राहतका लागि पनि दबाब दिनेछु ।’

विमानस्थलबाट वरिष्ठ नेता पौडेल शनिबार कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्