Logo
Logo

टर्कीले अमेरिकालगायत १० देशका राजदूत फिर्ता गर्दै



काठमाडौं । टर्कीले १० देशका आफ्ना राजदूत फिर्ता गर्ने बताएको छ । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने कदम चालेका हुन् ।

बिबिसीले जनाएअनुसार कूटनीतिक भाषामा ‘पर्सना नन ग्राटा’ भनिने राष्ट्रपति एर्दोआनको आदेशपछि टर्कीले ती देशका राजदूतलाई अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्नेछ ।

चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको बताइएको छ । पर्सना नन ग्राटा राजदूतहरूको कूटनीतिक हैसियत हटाउनुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो ।

गत साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूबाट कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी भएको थियो । तीमध्ये सात देश टर्कीका नेटो सहयोगी हुन् ।

युरोपको प्रमुख मानवअधिकार निगरानी गर्ने संस्था काउन्सिल अफ युरोपले कुभालालाई रिहाइ गर्ने मानव अधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न अन्तिम चेतावनी दिएको छ । शनिवार एक भेलालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनले राजदूतहरूले टर्कीको परराष्ट्र मन्त्रालयमा आएर आदेश जारी गर्ने हिम्मत गर्न नसक्ने बताए ।

यस विषयमा सम्बन्धित देशका राजदूतहरूले प्रतिक्रिया जनाएका छैनन् । यद्यपि जर्मनीको विदेश मन्त्रालयले यसमा जोडिएका देशहरू गहन छलफलमा रहेको बताएको छ । यस विषयमा टर्कीका निकायहरूले आधिकारिक सूचना समेत जारी गरेका छैनन् । नर्वेजियन विदेश मन्त्रालयले समाचार संस्था रोयटर्ससँग आफ्ना राजदूतले फिर्ता पठाउनुपर्ने चेतावनी दिने हदसम्मको कुनै कार्य नगरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्