Logo
Logo

बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन विकास समितिको सरकारलाई निर्देशन



काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले बाढी र पहिरो प्रभावित नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले बाढी र पहिरोबाट हुनसक्ने क्षतिलाई न्युनकरणका लागि दिर्घकालिन कार्ययोजना बनाउन र बाढी र पहिरो प्रभावित नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था गर्न मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले वर्षाका कारण पूर्ण अवरुद्ध मनाङ, बझाङ र बाजुरा लगायतका जिल्लामा पुग्ने सडकहरुमा तत्काल यातायात सञ्चालन गर्न र बाढीले क्षति भएका पुलको निर्माण कार्य तत्काल अघि बढाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।

त्यस्तै बैठकले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना १४ बर्षहुँदा पनि पुरा नभएको बाँकी कामलाई तिव्रताका साथ अघि बढाउन पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले द्रुत गतिका साथ आयोजना निर्माण गर्ने योजना नहुदा निर्माणमा ढिलाई हुन गएको बताए । उनले सडक निर्माणमा स्थानीय तह र प्रदेश तहलाई पनि जिम्मेवारी दिनुपर्ने धारणा राखे । मन्त्री यादवले नेपालको टेण्डर आह्वान गर्ने प्रथा नै गलत भएकाले समयमा नै आयोजना निर्माण हुन नसक्ने देखिएको बताए ।

बैठकमा सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र नदी कटानका कारण राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान रहेको बताए । मनसुन जन्य प्रकोपबाट करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सडक पूर्वाधारमा क्षति भएको उनको भनाई छ ।

बैठकमा सांसदहरुले बाढी र पहिरो प्रभावित नागरिकहरुलाई छिटो भन्दा छिटो राहत दिनुपर्ने र बाढीका कारण अवरुद्ध सडक सञ्जालहरुको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्