Logo
Logo

चुनाव हारेको चार वर्षपछि वडाध्यक्ष निर्वाचित



काठमाडौँ । चार वर्षअघि २०७४ असोज २ गते भएको स्थानीय चुनावमा पराजित भनिएका उम्मेदवार विजयी भएको खुलेको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० मा विजयी भई वडाध्यक्ष बनेका उम्मेदवार पराजित भएको खुलेको हो ।

स्थानीय चुनावमा उक्त वडाबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अरुणकुमार चौधरी र स्वतन्त्र उम्मेदवार रमेश राय दुवैले २६७ मत ल्याएको गोलाप्रथाबाट चौधरीलाई वडाध्यक्ष बनाइएको थियो ।

तर, यसबारे उच्च अदालत जनकपुरमा मुद्दा परेको थियो । उच्च अदालत जनकपुरको आदेशपछि आज गरिएको मतगणनामा रमेश राय २ मत बढी ल्याएर विजयी भएको खुल्न आएको छ । उच्च अदालत जनकपुरका अनुसार उम्मेदवार रायको पक्षमा २६८ र चौधरीको पक्षमा २६६ मत मात्र खसेको पाइएको छ । अन्य ९९ मत बदर भएका थिए ।

वडाध्यक्षमा विजयी रायका अनुसार मतगणनाको अन्तिम चरणमा निर्वाचन अधिकृतको मिलिमतोमा जेनेरेटर बन्द गरेर धाँधली गरी चौधरीलाई जिताएको बताए । मतगणनाका क्रममा दुई तीनपटक जेनेरेटरको लाइन काटेर बदर भएका तीन वटा मतपत्र निकालेर रुख छापमा सदर गरी चौधरीलाई जिताएको रायले बताए ।

प्रतिक्रिया दिनुहोस्