Logo
Logo

मुख्यमन्त्री र मन्त्रीहरु हेलीमा सरर, राहतको नाममा आश्वासन बरर



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शनिबारबाट राहत वितरण सुरु भएको भन्दै बाढी प्रभावित क्षेत्रमा केही खाद्यान्नका सामग्री पुर्यायो । हेलिकप्टरमार्फत डोटी, बैतडी र बझाङमा राहतका नाममा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायत स्वास्थ्य सामग्री शनिवारनै पुर्याइयो ।

आइतबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख आर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कनुनमन्त्री पूर्णा जोशीलगायत राजनीतिक दलका प्रतिनिधिसहित १२ जनाभन्दा धेरै नेताहरु बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे ।

बाढीपहिरोबाट प्रभावित नागरिक राहतसहित टोली आएको भन्दै हर्षित थिए । बैतडीको सिगास क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट आश्वासनका पोका बाँढ्दै थिए । त्यहाँका नागरिकलाई आश्वासन हैन तत्काल राहत र दीर्घकालीन समाधान चाहिएको छ ।

‘सेतीको नदीमा पानीको बहाव बढ्दा हामी समस्यामा पर्यौँ, टापुमा फसेका थियौं, हाम्रो उद्धारको लागि कोही आएनन्, नदीमा पानीको वहाव घटेपछि हामी सुरक्षित भयौँ,’ शिवनाथ गाउँपालिका–५ का लोकबहादुर चन्दले भने, ‘समस्यामा पर्दा कसैको साथ पाएनौँ, तर अब सहज भइसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आउनुभयो, हेर्नुभयो, जानुभयो । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोली पनि आयो । हामीलाई राहत आवश्यक थियो तर उहाँहरु आश्वासन बाढेर जानुभयो ।’

सेती नदीको बाढीले अवस्था विकराल छ । हाम्रो बस्ती नै जोखिममा छ । जुनसुकै बेला पनि हामी बग्न सक्छौँ । स्थानीय शान्ता धामीले भने, ‘हामीलाई सुरक्षित वासस्थान चाहिएको छ । गाँस र कपास पनि चाहिएको थियो । र, हामी तीनै तहका सरकार हेलिकम्पटरमा आउँदा हर्षित भएका थियौं, हामीले राहत पाउँछौं भनेर तर, उहाँहरु आउनु भयो, भाषणका पोका खोल्नुभयो, जानुभयो । र, हाम्रो राहत हवाइ मार्गमै सक्नुभयो ।’

‘अहिले त प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र नेताहरु राहत वितरण गर्छु भनेर रित्तो हात आउनुभयो, लाखौंको हेलिकप्टर चार्टर गरेर’, धामीले भने, ‘हामीलाई छाक टार्नै समस्या छ, खाद्यान्न नदीले बगायो । तर, उहाँहरु एउटा चाउचाउ पनि नदिई जानुभयो, अब हामी सामान्य राहतमा भुल्दैनौँ, समस्याको दीर्घकालीन समाधान आवश्यक छ ।’

बझाङमा पनि पहिरो प्रभावितले राहत पाएका छैनन् । प्रदेश सरकारले पठाएको चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायत स्वास्थ्य सामग्री गाउँपालिका कार्यालयमा थन्किएको छ । ‘राहत निकै कम छ, हामीले क्षतीको विवरण संकलन गरिरहेका छौँ, नागरिकहरुको आवश्यकता बुझेर हामी केही दिनमै राहत वितरण गर्छौँ,’ थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने ।

प्रदेश सरकारले राहत वितरणका नाममा पर्यटक बनेर मस्ती गरिरहेको, खप्तडछान्नाका पुस्करण धामीले गुनासो गरे । उनले भने, ‘पीडितको विवरण संकलन भएकै छैन । सस्तो लोकप्रियताका लागि अन्धाधुन्ध राहत ल्याएर आए । तर, यो राहत विस्थापित भएकाहरूका लागि एकछाक पनि पुग्दैन । महँगो हेलिकप्टर चार्टर गरेर पाँच क्वीन्टल चामल दिनुभन्दा यतैबाट किनेर दिएको भए नि हुने ।’

शनिबार प्रदेश सरकारले खप्तडछान्नामा पाँच क्वीन्टल चामलसहित नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका स्वास्थ्य सामग्री दिएको छ ।

राहत सामग्री अहिले वडा कार्यालयमा राखिएको छ । राहत सामग्री कम भएकाले कसलाई दिने कसलाई नदिने भनेर समस्या भएको वडा अध्यक्ष किरण गिरीले बताए । उनले भने– ‘प्रदेश सरकारले राहत त दियो तर, एकदमै थोरै छ । राहत कम भएकाले बाँड्न सकिएको छैन । गाँउपालिकाका वडाध्यक्षहरू बसेर छलफल गरी मृतकका परिवार र घरबारविहीनलाई मात्र दिने भन्ने निर्णय गरेका छौँ ।’

बझाङमा बाढीपहिरोले सबैभन्दा ठूलो मानवीय क्षति थलारा गााउँपालिकामा भएको छ भने सबैभन्दा बढी भौतिक क्षति खप्तडछान्नामा भएको छ । खप्तडछान्नामा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । खेतमै काटेर सुकाउन लागेको धान र काट्न बाँकी रहेको धान सहितको खेत बगाएपछि छान्नावासीमा भोकमरी हुने चिन्ता छ ।

अहिलेसम्म खप्तडछान्नाको कालुखेतीमा ९, गडरायमा ४ र पाटादेवलमा १० परिवार घरबारविहीन भएका छन् । अन्य ६० परिवारको घर जोखिममा भएकाले आफन्तकोमा बस्दै आएका छन् । कतिपय गाँउकै विद्यालयमा आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्