Logo
Logo

अन्नदाता किसान नै अन्नको खोजीमा !



धनगढी । सुदूरपश्चिम प्रदेशमा चरम खाद्य संकट हुने बताइएको छ । बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिले सुदूरपश्चिममा चरम खाद्य संकट हुने बताइएको हो ।

बेमौसमी झरीले धानबालीमा पुर्‍याएको क्षतिले मुठी रोपेर मानो फलाउने किसानहरु मारमा परेका छन् । उनीहरु भन्छन्— ‘अरुलाई अन्न दिने हामी किसानहरुले अरुबाटनै अन्न मागेर खानुपर्ने अवस्था सिर्जना भएको छ ।’

जलवायू परिवर्तनमा देखिएको समस्याको मारमा हरेक वर्ष किसानहरुनै पर्ने गरेका छन् । जसले गर्दा व्यवसायिक रुपमा कृषिा पेसा अंगालेका अन्न दाता किसानहरुलाई नै साँझ विहानको छाक टार्न नै मुश्किल हुँदै गएको छ । यसरी किसानहरुनै मारमा पर्दै जाने हो भन्ने खाद्य संटक हुने निश्चित नै छ ।

असोज ३१ गतेदेखि लगातार तीन दिनसम्म परेको वर्षाले अन्नको भण्डार भनिएको तराई क्षेत्र डुबानमा परेको थियो भने पहाडी जिल्लाहरु बाढीपहिरोको जोखिममा थिए ।

वर्षासंगै भएको डुवानले कैलाली र कञ्चनपुरमा भित्र्याउनै लागिएको धानबालीमा ठूलो वर्षा क्षति भएको हुँदा सुदूरपश्चिम प्रदेशमा खाद्य संकट उत्पन्न हुनसक्ने गोदावरी नगरपालिका वडा नम्बर–२ का किसान रमेश चौधरीले बताए । उनले भने— ‘बेमौसमी वर्षाको मारमा हामी किसानहरु परेका छौं, अब त हामीलाई साँझबिहान के खाउँ भइसक्यो ।’

उनले गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ८० क्वीन्टल धन बेचेको बताउँदै भने— यो वर्ष वर्षा क्षेतिले धानबालीमा पूर्णरुपले नोक्सान भएकाले हामी किसाननै भोकमारीको चपेटामा प¥यौं । ‘यो वर्ष बेमौसमी झरी नभएको भए धान उत्पादन बढ्थ्यो । तर, तीन दिनसम्म परेको झरीले काटेको धान खेतमै उम्रियो, काट्न बाँकी धान पानीमा डुबेरै सकियो ।’ अब त साँझबिहानको छाक टार्नै मुशिल भइसकेको बताउँदै अर्का किसान धनगढी उपमहानगरपालिका ६ की दीप्ति रानाले भनिन्— किसानलाई नै छाक टार्ननै मुस्किल भइसक्यो अब के हुन्छ ?’

उनले अगाडि थप्दै भने— ‘हामीले हरेक वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्दै आएका थियौं । यो वर्ष त आफूलाई नै खानलाई छैन कहाँबाट बेच्नु ? अन्नदाता हामीनै अन्नको खोजीमा छौं, राहतको पर्खाइमा छौं ।’

२१ हजार हेक्टर क्षेत्रफलको धानबाली पूर्णरुपमा नष्ट
धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । वर्षा र डुवानले जिल्लाभरि २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले प्रारम्भीक तथ्यांक हेर्दा २१ हजार हेक्टरको धानबाली पूर्ण रुपमा नष्ट भएको बताए । लामो समय पानीमा रहेकाले धान टुसाउन थालेको उनले बताए ।

कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ । ज्ञान केन्द्रका अनुसार प्रतिहेक्टर औषत ४५ क्वीन्टल धान उत्पादन हुने गरेको छ ।

उत्पादकत्वका आधारमा साढे नौं लाख क्वीन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ । प्रतिक्वीन्टल धान दुई हजार रुपैयाँका दरले हिसाब गर्दा पनि धानबालीमा वर्षाले तीन अर्ब रुपैयाँको क्षति भएको शर्माले बताए । उनले भने— हिउँदे बाली तोरी, मसुरो, आलु कति क्षति भएको छ यसको विवरण आउन नै बाँकी छ ।’ धानबालीमा भएको क्षतीको पनि पूर्ण विवरण आउननै बाँकी रहेको उनले बताए । कुल धानबाली लगाउने क्षेत्रमध्ये ४० प्रतिशतमा भिœयाइसकेको र २५ प्रतिशत जति काट्न बाँकी रहेको ज्ञान केन्द्रले जनाएको छ ।
धानबालीमा ठूलो क्षति हुँदा अन्न उत्पादन घट्ने र यसले खाद्यान्न अभावको समस्या हुनसक्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले जानकारी दिए ।

खाद्य संकटको चपेटामा सुदूरपश्चिम
बेमौसमी झरीले सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै ३ अर्व बढीको धानबालीमा क्षति भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

सुदूरका पहाडी सात जिल्लाको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक विवरण अनुसार कैलाली र कञ्चनपुरमा मात्रै तीन अर्बको धानबाली क्षति भएको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति भएको छ ।

सुदूरपश्चिम प्रदेशको दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धानबाली र गहुँबालीले सुदूरपश्चिलाई भोकमारीबाट बचाएको थियो । तर, यो वर्षको बेमौसमी झरीले कैलाली र कञ्चनपुरमा मात्रै ३३ हजार हेक्टर जमिनमा लगाएको १४ लाख ८५ हजार क्वीन्टल धान पूर्णरुपले नष्ट भएको तथ्यांकमा उल्लेख छ ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिमले हरेक वर्ष ६५ हजार क्वीन्टल खाद्यान्न किन्ने गरेको निमित्त कार्यालय प्रमुख कल्पना भट्टले जानकारी दिइन् । उनले भनिन्- ‘मागअनुसार खाद्यान्नको व्यवस्था गर्ने गरेका छौं ।’

उनले आर्थिक वर्ष २०७७/०७८ मा ६५ हजार क्वीन्टलको खाद्यान्न खरिद गरिएको जानकारी दिइन् । उनले भनिन्- ‘१५ हजार खाद्यान्न मात्रै चलान हुन बाँकी छ । बाँकी सबै सुदूरका पहाडी जिल्लाहरुमा चलान भइसक्यो ।’

उनले सुदूरपश्चिमको बाजुरमा सबैभन्दा बढी खाद्यान्न चलान हुने गरेको बताउँदै गत आर्थिक वर्षमा १२ हजार ५ सय ७८ क्वीन्टल चामल चलान भएको बताइन् । उनका अनुसार त्यस्तै, बझाङमा ४ हजार १ सय १५ क्वीन्टल, अछाममा ५ हजार ५ सय ८१ क्वीन्टल, दार्चुलामा ५ हजार ९ सय आठ क्वीन्टल र बैतडीमा १ हजार २ सय ७२ क्वीन्टल चामल चलान भएको छ ।

उनले भोकमारी हुन नदिन कैलाली र कञ्चनपुरका किसानहरुले उत्पादन गरेको धानलाई खरिद गरि सुदूरपश्चिममा पहाडी जिल्लाहरुमा बिक्रिवितरण गर्ने गरेको बताइन् । उनले भनिन्- ‘यो आर्थिक वर्षमा वर्षा क्षतिको मारमा किसाननै परेकाले खाद्य गोदामहरु रित्तै हुने सम्भावना बढेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्य संकट हुनसक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्