Logo
Logo

इजिप्टको इस्मालिया महोत्सवमा नेपाली धुनको आकर्षण



इस्मालिया । इजिप्ट सरकारले आयोजना गरेको २१औँ ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिवल’मा नेपालले पहिलोपटक भाग लिएको छ ।
अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने यस महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चार जनाको टोली इजिप्ट पुगेको छ । टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादकवादक नरेश प्रजापति सहभागी छन् ।

महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी छन् । ‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास पनि गरेका थिए ।

उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेको थियो । नेपाललाई महोत्सवमा विशेष आकर्षणका रूपमा लिइएको छ ।

‘इस्मालिया फोकलोर फेस्टिभलमा नेपाल पहिलो पटक सहभागी भएको हो’, नेपालको प्रतिनिधित्व गरेका सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘विश्वप्रसिद्ध यस महोत्सवमा नेपालप्रति जुन आकर्षण देखिएको छ यसले हामीलाई अझ उत्साहित बनाएको छ । नेपालको प्रस्तुति सहभागी मुलुकका लागि जति चासोको विषय बनेको छ त्यत्तिकै रोमाञ्चकारी पनि मानेका छन् ।’

यस प्रकारका अन्तर्राष्ट्रिय मञ्चलाई सदुपयोग गर्न सके नेपालको सांस्कृतिक विविधतालाई विश्व रंगमञ्चमा पु¥याउन सकिने महाप्रबन्धक राईले बताए । महोत्सव इस्मालियाका विभिन्न सांस्कृतिक एवं ऐतिहासिकस्थलमा सहभागी मुलुकको प्रस्तुतिसहित सात दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्