Logo
Logo

सुर्यमा ग्रहण लागेपछि कलम रोज्नुपर्यो : अध्यक्ष नेपाल



धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागिसकेकाले अब जनताले कलम चिन्ह रोज्नुपर्ने अवस्था आएको बताएका छन् । कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

केपी ओलीको निजी कम्पनीको रूपमा प्रयोग भएको नेकपा एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादीको स्थापना गरेको बताउँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले कलम चिन्ह प्राप्त गरेको बताए ।

बुधबार निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरिसकेको बताउँदै अध्यक्ष नेपालले भने, ‘सबै अवस्थामा कलम चिन्ह लिएर जनताको माझमा हामी जाने छौँ । हिजोको सूर्यमा ग्रहण लागिसकेकाले अब न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको छ ।’

उनले संसद पुर्नस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताए । उनले न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति न्यायप्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको बताए । समाजवादी प्रेस संगठनले विहीबार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘ओलीले साराथोक बिगार्नु भएको छ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आएका छन् । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ ।’

धनगढी विमानस्थलबाट अहिले अध्यक्ष नेपाल कञ्चनपुरको महेन्द्रनगरका लागि निस्किएका छन् । अध्यक्ष नेपालको महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्ने र पार्टीको विस्तारित भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्