Logo
Logo
साहित्य

नदी र ताल




यात्राको मान्छे
यात्रामा रमाउँछ
उ त्यसैमा छ
हेरी रहेको छ
नदी र तालको सम्बन्ध
आफ्नै ‘ताल सुर’ हुन्छ यी दुईको
प्रकृतिको गीत गाउने
तालबाट नदीको प्रवाह
नदीको गन्तव्य ताल
फेरि नदीको जन्म तालबाट
गजबको छ यो सम्बन्ध
फेवाको अगाडि उभिँदा
म हर्पन खोलालाई सम्झिरहेको छु
अनि तल फुस्रेमा झरेको तालको प्रवाह
मन्दाकिनी बनेर सेतीसँगको विलय
पर दोभिल्लामा पुगेर

त्यति मात्र होइन
तिन जिल्ला जोडिएको
पञ्चासे भन्ज्याङलाई पनि सम्झे
मैले हेरेको त्यो मुहान अर्धाङ्गिनीसँगै
जहाँबाट हर्पन जन्म्यो
फेवालाई बचाइ राखेको छ उसले
बल्लबल्ल पुग्यौ हामी मुहानमा
फेवाको पश्चिमी तट घाटीछिन्नाबाट
दिनभर पैदल उक्लेर
त्यो यात्रा –
प्रकृतिको छटाको अनुपम उज्यालो
मुलुकको सुन्दर अनुहार

अन्तिम विश्राम नलिउन्ज्याल
यो यात्रा चलिरहेको हुन्छ यसरी नै
त्यो अन्तिम विश्राम कता ?
क्षीर सागरसँगको समागममा
मलाई हतारो छैन
यात्रा अझै जारी छ ।

कार्तिक ४, २०७८
पोखरा

प्रतिक्रिया दिनुहोस्