Logo
Logo

पत्रकार किसन राईको धरानमा अन्त्येष्टि


आनन्द श्रेष्ठ


धरान । खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार तथा समाजसेवी किसन राईको अन्त्येष्टि गरिएको छ । राईको आज धरान–१५ स्थित उनकै जमिनमा बाहिङ राई परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

हङकङबाट प्रकाशन हुने एभरेष्टखबरका सम्पादक/प्रकाशक तथा नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष समेत रहेका राईको गत सात गते भीरबाट लडेर मृत्यु भएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि धरान–१५ स्थित किरात राई यायोक्खाको कार्यालय परिसरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, जसपाकै नेता आङकाजी शेर्पा, नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, धरान उपमहानगपालिकाकी उपप्रमुख मञ्जु भण्डारी लगायत स्थानीय नेताहरु समेत पुगेका थिए ।

उनको पार्थिव शरिरमा हङकङ नेपाली महासंघ, धरान हङकङ मञ्च, किरात राई यायोक्खा सुनसरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पुष्प गुच्छा, खदा र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

किसनको परिवारले अन्त्येष्टि कार्यकै लागि सो स्थानमा पहिले नै जग्गा किनेको थियो । त्यहाँ उनका बुवाको र अन्य नातेदारको पनि चिहान रहेको छ । हङकङबाट उनकी आमा, श्रीमती, छोरा र आफन्त आएपछि अन्तिम संस्कार गरिएको हो ।

नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष, एनआरएनए हङकङका उपाध्यक्ष तथा विभिन्न संघ संस्थामा आवद्ध राई हङकङमा आदिवासी जनजातीको अधिकार स्थापित गर्ने अभियन्ता समेत थिए ।

नेपाली समुदायको अधिकारका लागि समेत लड्दै आएका उनलाई केही समयअघि हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि हालै जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्