Logo
Logo

सरकारले देश बनाउने सपना देखेको छ, त्यो पुरा भएरै छाड्छः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको त्यो सपना साकार पारिने बताएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको संसदमा जवाफ दिँदै उहाँले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेको बताए ।


प्रधानमन्त्री ओलीले भने, ‘यहाँ देश बनाउने कुराको सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन । जागै हुँदा देख्ने सपना हो ।’

शहीदका सपना पूरा गर्ने अठोटलाई कसैले रातमा देख्ने सपनाको रुपमा चित्रित गर्नु उचित नहुने भन्दै शहीदका सपना भनेको निदाएर घुरेर देख्ने सपना नभएको प्रष्ट पारे । देश कहाँ पुग्ने, कस्तो बनाउने भन्ने आकांक्षा बोकेर त्यसलाई पूरा गर्ने अठोटलाई सपनाको रुपमा आफूहरुले लिएर हिँडेको पनि उनले बताए । हामी कति समयमा कहाँ पुग्छौँ भन्ने तय गरेको भन्दै दिगो विकासको लक्ष्य सबैले देखेको सपना भएको पनि उहाँले उल्लेख गर्नुभयो । हामीले देश बनाउने अठोटको कुरो गरेको भन्दै नीति कार्यक्रमले देश बनाउने सपना देखाएको उनले बताए ।
नीति कार्यक्रम बडो सोच विचार गरेर तय गरेको सपनाको दस्तावेज भएको भन्दै त्यो देखेको मात्रै नभई एउटा सोचको रुपमा विकास गरेको पनि उल्लेख गरे । प्रतिपक्षीले नीति तथा कार्यक्रमलाई एउटा निबन्ध भन्नु आवश्यक संशोधन गर्नुपर्ने केही पनि नरहेकाले त्यस्तो टिप्पणी गरेको भन्ने रुपमा आफूले बुझेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्