Logo
Logo

जनगणनामा ढाँट्नु हुन्न है : शरु जोशी



काठमाडौं । राष्ट्रिय जनगणनालाई सफल पार्न हरेक नेपाली नागरिकहरुले घरघरमा तथ्यांक संकलन गर्न आउने कर्मचारीलाई आफ्नो घर, परिवारको विषयमा सही सूचना दिए मात्र राष्ट्रिय जनगणना सफल हुने कुरा वरिष्ठ अधिकारकर्मी शरु जोशीले बताउनुभयो ।

रोटरी क्लब अफ काठमाडौं बेष्टले आइतबार ग्राण्ड होटलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै जोशीले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो जनगणना भएकोले नयाँ नेपाल निर्माण गर्न यो जनगणनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रमुख वक्ताको रुपमा बोल्दै जोशीले अहिले नेपालको जनसंख्या करिब तीन करोडको हाराहारीमा पुगेको छ भनिन्छ । ती तीन करोडमध्ये कति देशभित्र छन्, कति विदेशमा छन् भन्ने कुराको ठोस तथ्यांक पनि यो जनगणनाबाट स्पष्ट हुने भएकोले हरेक गाउँ, नगरका नागरिकले यसबारे तथ्य कुरा जनगणना गर्न आउने कर्मचारीलाई बताउनुपर्छ ।

यसपटकको जनगणना विशेष खालको रहेको छ । जनगणना गर्न आउने कर्मचारीहरुले करिब ७० लाख घर परिवारलाई ८० वटा प्रश्न सोध्नेछन् । ती प्रश्नको जवाफ नागरिकले सही दिए भने मात्र त्यो राष्ट्र निर्माणका लागि महत्वपूर्ण हुने कुरामा जोशीले जोड दिनुभयो ।

देशमा राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनले हाम्रो सोचमा परिवर्तन ल्याउन नसकेको कारण जताततै विकृति, विसंगति झांगिएको जोशीको आफ्नो भनाइ थियो । उदाहरणका लागि उहाँले भन्नुभयो– ‘आफ्नो काम छिटो गराउन घुस दिने पनि हामी नै हौं । घुस लिने पनि हामी नै हौं । फेरि भ्रष्टाचार बढ्यो भन्ने पनि हामी नै हौं । आजदेखि घुस दिन छाड्यौं भने एकहदसम्म भ्रष्टाचार कम हुँदै जान्छ । यो सोचमा परिवर्तन हुनुपर्छ’, जोशीले भन्नुभयो ।

रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट शारदाभक्त रंजितको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रिया कार्यक्रममा महिला अधिकारकर्मी शरु जोशीले मुलुकमा ५१ प्रतिशत महिला छन् भनिएको छ । हरेक राजनीतिक दलले ३३ प्रतिशत महिलालाई आफ्नो पार्टीमा सहभागी बनाउनुपर्छ भनेका छन् । वास्तवमा ३३ प्रतिशत महिला राजनीतिमा सहभागी छन् कि छैनन् ? महिलाको राजनीतिमा सहभागिताबाट समाजमा कत्तिको परिवर्तन आएको छ ? अन्य महिलाको अवस्था कस्तो छ । उनीहरु कुन–कुन पेशा÷व्यवसायमा आवद्ध छन् ? कति विदेश पलायन भएका छन् जस्ता तथ्य यो जनगणनामा समेटियो भने त्यसले राजनीति, सामाजिक, आर्थिक अवस्था सुधार्न राज्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जनगणनालाई छिमेकी देश भारतले विशेष पर्वका रुपमा मनाउँछ । भारतमा त्यसबेला दुई दिन बिदा दिने चलन छ । बिदाका बेला घर परिवार सबै एकै ठाउँ हुने र त्यसबाट सत्य तथ्य कुरा बाहिर आउने हुँदा नेपालमा पनि बिदा दिनुपर्ने बताउनुभयो ।

उहाँले कतिपय व्यक्तिले आफूले गरेको काम, पेशा, तल्लो स्तरको भएको ठानेर पेशा नै लुकाउने गरेको बताउँदै यसले लक्षित वर्गलाई दीर्घकालमा घाटा हुने बताउनुभयो । त्यसैले आफूले गरेको जुनसुकै कामको विवरण कर्मचारीलाई बताउन आग्रह गर्नुभयो ।

उहाँले संविधानले नागरिकलाई मौलिक हकको अधिकार दिएको बताउँदै ती मौलिक हकबाट कति नागरिक लाभान्वित भएका छन् ? कति लाभान्वित भएका छैनन् भन्ने पनि स्पष्ट हुने बताउनुभयो । कोभिडका कारण अर्थतन्त्र डावाडोल भयो । धेरैले अकालमा ज्यान गुमाउनुप¥यो । अब विस्तारै अर्थतन्त्र उठ्न थालेको छ । श्रमसँग श्रमिकहरु जोडिन थालेका छन् । सबै क्षेत्र खुल्न थालेको छ । यस विषयमा पनि राज्यलाई जनगणनाबाट ठूलो शिक्षा मिल्ने विश्वास व्यक्त गर्नुभयो । अन्तक्र्रिया कार्यक्रममा रोटरी क्लब अफ न्यूरोड सिटीका पूर्व प्रिसिडेन्ट सीता रुपाखेतीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्