Logo
Logo
कर्णालीमा नयाँ सरकार

कर्णालीमा आजै मन्त्रिपरिषद् विस्तार, को-को मन्त्री बन्दैछन् ?



काठमाडौं । कर्णाली प्रदेशले आज नयाँ नेतृत्व पाउँदैछ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

पूर्वसहमति अनुसार माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट सोमबार राजीनामा दिइसकेपछि कर्णालीमा नयाँ सरकार गठन हुने भएको हो ।

पाँच दलीय गठबन्धनको समर्थनमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्न लागेका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिसँगै आजै सानो आकारको मन्त्रीपरिषद् विस्तार गरिने शाहीले बताए । कर्णालीमा मुख्यमन्त्री सहित ८ मन्त्रालय रहेको र पाँच दलीय गठबन्धनभित्र सहमतिमै मन्त्रालय टुंगो लगाउँने उनले बताए ।

को–को बन्दैछन् मन्त्री ?
कर्णालीमा मुख्यमन्त्री जीवन शाही हुने निश्चित भएसँगै पाँच दलीय गठबन्धनमा कुन दलले कुन मन्त्रालय पाउने र कति वटा मन्त्रालय पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको माओवादी केन्द्रका प्र्रमुख सचेतक ठम्मरबहादु विष्टले बताए ।

कर्णालीका एक सांसदका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित २, माओवादीले ४ र एकीकृत समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने विषयमा छलफल चलिरहेको छ । तर सांसद संख्याको आधारमा कांग्रसले मुख्यमन्त्रीसहित एक, माओवादीले ४ र समाजवादीले दुई मन्त्रालय पाउनेगरी सहमति हुनसक्ने ति सांसदले बताए ।
कांग्रेसले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका लागि दुई मन्त्रालयको दावी गरेको हो । अन्य प्रदेशमा जस्तै कर्णालीमा पनि कांग्रेसभित्र दुई लाइन छ । पाँच जना संस्थापन पक्षमा संसदीय दलका नेता शाहीसहित र संस्थापनइतर समूहमा एक (दीनबन्धु श्रेष्ठ) मात्रै छन् । महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा श्रेष्ठ जलस्रोत तथा उर्जा विकास मन्त्री थिए ।

सरकारको नेतृत्व लिइसकेका कारण कांग्रेसले दुई मन्त्रालय पाउने सम्भावना न्यून छ । दुई मन्त्रालय पाए पनि श्रेष्ठले मन्त्री पाउने सम्भावना नभएको कांग्रेसकै एक सांसदले बताए । मन्त्री हुनुअघि श्रेष्ठ कर्णाली प्रदेशसभामा सार्वजनिक लेखा समितिको अध्यक्ष थिए । कांग्रेसले एक मन्त्रालय मात्रै पाएको खण्डमा संसदीय दलका सचेतक हिमबहादुर शाही मन्त्री बन्ने छन् । अघिल्लो पटक अन्तिममा मन्त्री बन्नबाट बन्चित भएका उनी यसपटक जसरी पनि सरकारमा जाने कांग्रेस नेताहरु बताउँछन् ।

चार मन्त्री दाबी गरेको माओवादी केन्द्रले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने जनाएको छ । सांसद विन्दमान विष्टको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुनेगरी छलफल भइरहेको माओवादीका एक सांसदले बताए । ती सांसदका अनुसार रुकुम पश्चिमका गोपाल शर्मा पुनः मन्त्रीमा दोहोरिनुपर्ने दबाब बढको छ । मुख्यमन्त्रीले राजीनामा दिनुअघि उनी आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

तर रुकुमले यसअघि नै दुई वटा मन्त्री पाइसकेका कारण अब रुकुम बाहेकका जिल्लाबाट मन्त्री बनाउने प्रयास भइरहेको छ । ती सांसदका अनुसार माओवादी केन्द्रबाट सुर्खेतका विन्दामान विष्ट र डम्बर विष्ट, जाजरकोटका गणेशप्रसाद सिंह, डोल्पाका विरबहादुर शाहीको नाम नयाँ मन्त्री बन्नेमा चर्चा छ ।

नेकपा एकीकृत समाजवादीबाट मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमका देवी ओली मन्त्री बन्ने सम्भावना छ । समाजवादीबाटै जुम्लाका पदमबहादुर रोकाया पनि मन्त्रीको चर्चामा छन् । समाजवादीले तीनवटा मन्त्रालय पाउँनुपर्ने दावी गरेको छ । तर उसले दुई मन्त्रालय पाउँने निश्चित छ । थप एक मन्त्रालयका लागि दबाब दिइरहेको छ । आफूहरुले भने कुनै पनि हालतमा तीन मन्त्रालय नछोड्ने सांसद ओलीको दावी छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले मन्त्रालय बाँडफाँडमा एक प्रकारको सहमति भइसकेको बताए । ‘मन्त्रालय बाँडफाँडमा समस्या छैन, पुरानै सहमतिअनुसार भागबन्डा मिलिहाल्छ,’ उनले भने, ‘आज मुख्यमन्त्रीको दावी पेश हुन्छ, भोलि या पर्सीमात्रै मन्त्रालय भागवन्डाको अन्तिम टुंगो लगाउँछौं ।’

कर्णाली प्रदेशको अंक गणित यस्तो छ ?
कर्णाली प्रदेशमा माओवादी केन्द्रको १२ का जना सांसद छन् । यस्तै कांग्रेसको ६, एकीकृत समाजवादीको ३, एमालेको १२, राप्रपाको १ जना सांसद रहेका छन् ।

४० जना सांसद रहेको कर्णाली प्रदेशमा एमालेका ४ जना र माओवादी केन्द्रका एक जना कारवाहीमा परेकाले अहिले ३४ जना मात्रै सांसद रहेका छन् ।

पाँच दलीय गठबन्धनभित्र २१ जना सांसद रहेका छन् । सरकार बनाउँन १८ जना सांसद भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्