Logo
Logo
पीडामा किसान

घुइँयाको भाउमा धान बेच्छन्, सुनको मुल्यमा चामल किन्छन्



धनगढी । असोज ३१ गतेदेखि तीन दिनसम्म परेको बेमौसमी झरीले किसान निकै मारमा परेका छन । उनीहरुले न त धानको मूल्यनै पाएका छन्, न त चामलनै किन्न सक्ने अवस्थामा छन् ।

किसान पीडा सुनाउँदै भन्छन्– ‘यो वर्ष त धानको मूल्यनै पाएनौं, घुइँयाको भाउमा दिनु पर्याे र चामल सुनको मूलयमा किन्नु परिरेहको छ । अब त हामी अन्नदाता किसाननै भोकभोकै मर्ने अवस्थामा पुगिसकेका छौं । हामी पनि अन्नको खोजिमा छौं ।’

प्रतिक्विन्टल २ हजार ५० रुपैयाँका दरले ४ क्विन्टल धान बिक्री गरेका धनगढी ६ मटयारीका विपना बोहरा चामल किन्ने तयारीमा छन् । बेमौसमी वर्षाका कारण एक बिघाको धान खेतमै सखाप भयो । बचेको धान पनि बिग्रेला भन्ने डरले बेचिदिए ।

‘धान खेतमै भिज्यो बचाउन सकिएन, जसो त्यसो बचाएको धान पनि बिग्रिएला भन्ने डर भइसक्यो, दाना काला भएका छन्, धान ओसाएको छ, यो पनि बिग्रियो भने घरमा भोकमरी सुरु हुन्छ, त्यसैले अहिले सस्तोमै भए पनि बेच्न आएकी छु’, विपनाले भने– ‘प्रतिक्विन्टल दुई हजारका दरले ४ क्विन्टल बेचेकी छु, अब घरमा खानको लागि चामल किन्नु पर्ने हो ।’

सरकारले यसपटक मोटो धानको न्यूनतम मूल्य २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । सरकारी निकायले धान खरिद काटा भने लगाएको छैन । जसका कारण किसान घुइँयाको भाउमा धान बेच्न बाध्य भएका हुन ।

धनगढी शन्तोषी टोलका सिताराम चौधरी भन्छन– ‘वर्षाका कारण आधा खेतको धान खेर गयो, धान बेचेरै वर्षभरीको खर्च चलाउने गरेको थिए, धान बेच्न खोजेको सरकारले मूल्य मात्रै तोकेको छ किन्न सुरु गरेको छैन, व्यापारीले मूल्य दिदैनन ।’

सितारामले पनि घर खर्च चलाउन प्रतिक्विन्टल ६ सय ८५ रुपैयाँ घाटा खाँदै ८ क्विन्टल धान बेचे । छोरा–छोरीलाई तिहारका लागि लुगाकपडा र तिहार खर्च कटाएर केही बाँकी रहे केही समय घर खर्च चलाउने उनको योजना छ ।

सरकारले मूल्य तोके पनि किन्न ढिलाई गर्दा वर्षेनी आफूहरू मारमा पर्ने गरेको किसानको दुखेसो छ । घोडाघोडी नगरपालिका विवेक सुनार दुखेसो पोख्छन्– ‘सरकारले मूल्य त तोक्छ तर, हामीले सरकारी मूल्यमा कहिले धान बेच्न पाएका छैनौँ । हामीले व्यापारीलाई सस्तोमा बेचिसकेपछि मात्र सरकारी निकायले किन्न सुरु गर्छन् । हामी त देखिने मात्रै हौँ । व्यापारीले हामीबाट सस्तोमा किनेर महँगोमा सरकारलाई बेच्छन् । व्यापारी र सरकारी कर्मचारीबीच मिलेमतो हुँदो रहेछ, हामी सधैँ मारमा छौँ ।’

सरकारले धान बाली भित्र्याउनुअघि नै मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ ।

तर, कैलालीका अधिकांश किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा ६ सयदेखि १ हजार रुपैयाँसम्म सस्तोमा धान बिक्री गरिरहेका छन् । मोटो धान प्रतिक्विन्टल १ हजार ८ सयदेखि २ हजार ५० सम्म बिक्री गर्नुपर्ने बाध्यतामा छन्, किसान ।

गुणस्तर हेरेर मात्रै धान खरिद गरिरहेको धनगढीका गल्ला व्यापारी विष्णुराज शाही बताउँछन् । शाही भन्छन्– ‘वर्षाले धानमा क्षति पुर्यायो, धान खेतमै भिजेर उम्रिएका छन् । किसान त्यसैलाई सुकाएर बेच्न आइरहेका छन् । सबै धान खरिद गर्न सक्ने अवस्था छैन । दशैँअघि भिœयाएको धान राम्रो छ । तर, त्यसपछि काटेको र भिœयाएको धान वर्षाले बिगारेको छ । त्यसैले धान हेरेर मात्रै खरिद गरिरहेका छौँ ।’

धानले मूल्य नपाउँदा मारमा किसान
सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्ने गर्दछ । किसानले धान भित्र्याइसकेका छन् । गल्ला व्यापारीले पनि खरिद गर्न सुरु गरिरहेका छन् । तर संस्थानले भने अहिलेसम्म किसानको धान खरिद गर्ने सुरु सार नै गरेको छैन ।

हाम्रो धान समयमै सरकारले किनिदिने भए त हामीलाई केही भए पनि राहत हुन्थ्यो होला, हामीले घर खर्चको आवश्यकता हुँदा धान बेचेरै खर्च चलाउँछौँ, हामीले सस्तोमा व्यापारीलाई बेचिसकेपछि मात्र सरकारले काटा लगाउने गर्छ, अनि तिनै व्यापारीले धान बचेर फाइदा लिन्छन्, गोदावरी नगरपालिकाका तेजप्रकाश मल्ल दुख पाेख्छन् । उनी थप्छन्, ‘हामी किसान सधैँ सरकारी निकाबाटै ठगिने र लुटिदै आएका छौं । यो वर्ष त धानको बिउको मूल्य पनि फर्काउन सक्दैनौँ ।’

धान खरिद गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने अहिलेसम्म खरिद गर्ने सुरसार गरेको छैन । केन्द्रीय कार्यालयबाट अहिलेसम्म धान खरिदका लागि कुनै परिपत्र नआएका कारण धान खरिद सुरु नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए । अहिलेसम्म खरिदका लागि परिपत्र आएको छैन, हामीलाई केन्द्रीय कार्यालयले नै धान खरिदको लक्ष्य र बजेट विनियोजन गर्छ । हामी तयारी अवस्थामा छौँ, परिपत्र आउने बित्तिकै किसानको धान हामी खरिद गर्न सुरु गर्छौं, उनले भने ।

प्रतिक्रिया दिनुहोस्