Logo
Logo

महाप्रबन्धकको ‘नेमप्लेट’ फालियो



काठमाडौं । नेपाल वायुसेवा निगमको प्रधान कार्यालय नयाँ सडकमा महाप्रबन्धकको कार्यकक्षबाट डिमप्रकाश पौडेलको ‘नेमप्लेट’ हटाएर त्यसको ठाउँमा युवराज अधिकारी कार्यकारी अध्यक्षको ‘नेमप्लेट’ राखिएको छ ।

नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीलाई तीनवटै कर्मचारी संगठनले स्वागत गरेका छन् । कार्यकारी अध्यक्षको कार्यकक्षमा दिनहुँ कर्मचारी संगठनका पदाधिकारीहरुसँग निगम सुधारका विषयमा छलफल हुने गरेको छ ।

‘डिमप्रकाश पौडेल चाहिँदैन, निगम बेच्न पाइँदैन’ भन्ने ब्यानर अझै पनि मूलगेटको दायाँबायाँ झुन्ड्याइएको छ । पौडेलले निगमलाई कम्पनीमा लगेर निगमको सम्पत्ति कौडीको मोलमा बेचेर अर्बौ कमिशन कुम्ल्याउन खोजेपछि निगमका कर्मचारीहरु आन्दोलनरत थिए ।

१ सय २४ दिने कर्मचारीहरुको आन्दोलन अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएपछि स्थगित भएको छ । तर, महाप्रबन्धक पौडेल र यती ग्रुप आवद्ध सञ्चालक समितिका सदस्यहरुलाई बर्खास्त नगरेसम्म आन्दोलन जारी रहने कर्मचारीहरुले बताएका छन् ।

नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी र कर्मचारी ट्रेड युनियनको संघर्ष समितिबीच ४ बुँदे सहमति भएपछि निगमका कर्मचारीहरु काममा फर्किएका छन् ।

महाप्रबन्धक पौडेलले आफ्नो तलबभत्ता आफूखुशी बढाएकोमा त्यो तलब भत्ता खारेज गरी पूर्ववत् अवस्थामा पु¥याइएको छ । विदेशस्थित कर्मचारीहरुको काटिएको तलबभत्तालाई पनि पूर्ववत अवस्थामा राखिएको छ ।

निगमलाई कम्पनी मोडेलमा लगेर निजी क्षेत्र पोस्ने निर्णय खारेज गर्नुपर्ने अडानमा कर्मचारीहरु छन् । यस अगाडिको सञ्चालक समितिले निगमलाई कम्पनीमा लैजान गरेको निर्णय खारेज गरेर अर्थ मन्त्रालयबाट फाइल झिकाउन कर्मचारीहरुले कार्यकारी अध्यक्ष अधिकारीलाई आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष अधिकारी निगमका पूर्वकर्मचारी भएकोले पनि निगममा अहिले कर्मचारीमैत्री वातावरण बनेको छ । नवनियुक्त कार्यकारी अध्यक्षले पनि निगम र कर्मचारीहरुको हितको निम्ति मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्