Logo
Logo

नेकपाका भातृ संगठन एकताको मोडालिटी तयार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख ।
नेकपामा भातृ संगठनको एकता तयारी अघि बढेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच जनसंगठनहरूमा दुईदेखि तीनजनासम्म सहसंयोजक राखेर एकता गर्ने मोटालिटीमा सहमति भएको छ । जनसंगठनको एकता गर्दा दुवैतर्फका अध्यक्ष र महासचिवलाई समेट्न सहसंयोजक पद सिर्जना गर्ने गरी नेता समझदारीमा पुगेको स्रोतले बतायो । २२ मध्ये पाँच जनसंगठनको मात्रै एकीकरण भएको छ । समयमा एकता नहुँदा भातृ संगठनमा नैराश्यता छ ।


जेठ ३ मात्र बाँकी एकता ?
सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ)मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

भियतनाम र कम्बोडिया भ्रमणमा निस्किएका ओलस् १ जेठमा फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाएका छन् । स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्य्विभाजनको प्रस्ताव बनिरहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्