Logo
Logo

ग्राहकको निक्षेप निकालेर मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ




काठमाडौं । ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ परेका छन् । सिन्धु विकास बैंकको दोलालघाट शाखाका प्रबन्धक सुमन खरेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो ।


उनले बैंकको एक करोड भन्दा धेरै रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । बैंककै उजुरीका आधारमा सिआइबीले उनलाई एक साताअघि पक्राउ गरेको हो ।


ग्राहकहरुले जम्मा गर्न ल्याएको निक्षेप उनले चिनजानका व्यवसायीलाई मिटरब्याजमा लगाउने गर्दथे । हरेक महिनाको अन्तिममा ब्याजसहित ग्राहकको खातामा पैसा राखेर हिसाब मिलाउने गर्दथे । तर, पछिल्लो केही महिनायता त्यसरी ब्याजमा लगाएको पैसा नउठेपछि उनको अवैध धन्दा खुलेको थियो । त्यसपछि बैंकले उजुरी दिएर उनलाई पक्राउ गराएको हो । घटनामा बैंकका अन्य कर्मचारीले पनि उनलाई सघाएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्