काठमाडौं । नेपाल आयल निगमले गरेको मूल्य वृद्धिविरुद्ध ६ वटा विद्यार्थी संगठनले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन, र अखिल छैठौं लगायतका विद्यार्थी संघगठनले संघर्षका कार्यक्रम घोषणा गरेका हुन।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मुल्यबृद्धिले आम–नेपालीको जनजिवन कठिन बनाएको ठहर गरेका छन् ।
संघर्षका कार्यक्रम अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाइने छ ।
शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीहरुलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डरसहित प्रदर्शन, कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखि विरोध प्रदर्शन र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस गर्ने तय भएको छ ।
नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताप्रति गैरजिम्मेवार बनेको विद्यार्थी संगठनहरूले बताएका छन् ।
‘मूल्य समायोजन भन्ने बाहनामा अन्तरार्ष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तहरुमा मूल्य वृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मूल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।











