Logo
Logo

‘प्रधानन्यायाधीश राणाले न्यायको बन्ध्याकरण गरे’



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायको बन्ध्याकरण गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । शुक्रबार नेपाल बार एसोसिएसनको धर्नापछि सभालाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशलाई इजलास सञ्चालन गरेर देखाउन चुनौती पनि दिए ।

नेपाल बारको पूर्वअध्यक्ष समेत रहेका थापाले न्यायालय शुद्धिकरण राणाको बहिर्गमन प्रारम्भ भएको बताए । उनले भने, ‘जबराले गंगाजल छर्किएर शुद्धिकरण हुन्छ भन्ने नसोचे हुन्छ । उहाँले पैसाले न्यायको बन्ध्याकरण गर्दै आउनु भएको छ ।’

थापाले प्रधानन्यायाधीश राणा अब प्रधानन्यायाधीश नरहेको टिप्पणी गरे । उनले भने, ‘तपाईंको बहिर्गमन भइसकेको छ। अब प्रहरीलाई चारैतिर घेरा हालेर भित्र छिरेर प्रधानन्यायाधीश रहुनु भएन। मूल गेटबाट छिर्न नसक्ने प्रधानन्यायाधीश हुँदैन, अब गंगाजल छर्कने कुरा छैन। न्यायको चीरहरण समाप्त गर्न र पैसामा हुने खरिद बिक्री रोक्न हाम्रो आन्दोलन जारी छ। हामी यतिमै रोकिने छैनौं।’

उनले प्रधानन्याधीशलाई न्याय दिने अधिकार रहेको तर किनबेच गर्ने अधिकार नरहेको बताए । उनले भने, ‘हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। दलहरु अब बोल्नुस्। भ्रष्ट प्रधानन्यायाधीश चाहिन्छ कि स्वच्छरु अब बोल्नुपर्छ ।’

भ्रष्ट प्रधानन्यायाधीश चाहिँदैन भनेर राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताए । ‘राजनीतिक दललाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको हो कि होइन भनेर बोल्न समय आयो । राजनीतिक दल बोल्नु पर्छ कि पर्दैन ?’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्